कामलाई पारदर्शी, राम्रो र उन्नतशील बनाउनु पर्छ : मन्त्री कुसियत « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कामलाई पारदर्शी, राम्रो र उन्नतशील बनाउनु पर्छ : मन्त्री कुसियत


२२ श्रावण २०७६, बुधबार


विराटनगर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गएको आर्थिक वर्षमा ८० प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयले सङ्घीय सरकारबाट स्वीकृत बजेट रु एक अर्ब २९ करोड ४७ लाख ३५ हजारमा रु एक अर्ब चार करोड नौ लाख ६० हजार खर्च गरी ८०.४० प्रतिशत प्रगति गरेको छ भने प्रदेश सरकारबाट स्वीकृत बजेट रु एक अर्ब ४५ करोड ५० लाख ५५ हजारमा रु ९८ करोड २८ लाख ६६ हजार खर्च गरी ६७.५४ प्रतिशत प्रगति गरेको छ ।

सोही मन्त्रालयद्वारा तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा गर्दै मन्त्रालय स्थापना भएको छोटो समयमा कार्यालय र कर्मचारीहरुको व्यवस्थापन, कर्मचारी हेरफेर हुने, नयाँ अनुभव र अभ्यासका बाबजुद पनि मन्त्रालयले गरेको काम सन्तोषजन देखिएको बताइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुसियतले कामलाई पारदर्शी, राम्रो र उन्नतशील बनाउनु मन्त्रालय मातहतका सबै कर्मचारीहरुले दायित्व छ भने । उनले कर्मचारीले जनता र देशप्रति जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै भ्रष्टाचारमुक्त प्रदेश बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने अपिल गरे । यस क्षेत्रलाई हरियाली बनाउन हाम्रै जिम्मेवारीअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालयले पनि आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने बताए ।

प्रदेशका प्रमुख सचिव सुरेशकुमार अधिकारीले कर्मचारी समायोजनको विषय देखाएर जिम्मेवारीबाट पन्छिन नहुने बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले वृक्षरोपणदेखि वृक्ष हुर्काउनेसम्मको कार्यक्रमले मात्र वन क्षेत्रको विकास हुने विचार व्यक्त गरे ।

विगतमा भएका कमीकमजोरीलाई चिर्दै नयाँ जोश र जाँगरका साथ काम गर्न मन्त्रालयले आफ्ना मातहतका डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्था कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, वनस्पति, उद्योग र पर्यटन क्षेत्र हेर्ने सबै कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइसकेको उद्योग, वन, पर्यटन तथा वातावरण सचिव बद्रीराज ढुङ्गानाले जानकारी दिए ।

वन निर्देशनालयका निर्देशक यादवप्रसाद धितालले कर्मचारीले आ–आफ्ना काम समयमै सम्पादन गर्ने बानी बसाल्न आग्रह गरे ।

मन्त्रालय मातहतमा एक हजार २७७ दरबन्दीमा हाल ७५७ कर्मचारी मात्र कार्यरत छन् भने ३३६ कर्मचारी अझै अपुग अवस्थाबाट मन्त्रालय अघि बढ्नुपर्ने आवस्था देखिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस