निजामती कर्मचारीको असाधारण बिदा काट्न प्रस्ताव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निजामती कर्मचारीको असाधारण बिदा काट्न प्रस्ताव


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ । सत्तारुढ नेकपाका सांसद झपटबहादुर रावलले निजामती कर्मचारीले पाउँदै आएको असाधारण बिदा काट्न प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा मङ्गलवार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद रावलले असाधारण बिदा दिने व्यवस्था हटाउनुपर्ने प्रस्ताव गरेका हुन्।

‘असाधारण बिदा दिने व्यवस्था खारेज गरौँ’, उनले भने ‘असाधारण बिदा हाकिम वा मन्त्रीको तजबिजमा दिइने भएकाले यो आवश्यक छैन, हटाउनुपर्छ।’

यस्तो बिदा हाकिम, मन्त्री तथा राजनीतिक पहुँच भएकाले मात्रै पाउने भएकोले यसको दुरुपयोग भइरहेको उनको तर्क थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले असाधारण बिदा अध्ययनमा उपयोग भइरहेको जवाफ दिएका थिए।

उनले निजी खर्चमा विदेशमा अध्ययन गर्न जानेलाई दिइने अभ्यास रहेको प्रस्ट पार्दै यसले राज्यलाई घाटा नलाग्ने बताए ।

समितिका सभापति शशी श्रेष्ठले कुन कुन अवस्थामा असाधारण बिदा दिने हो भन्ने स्पष्ट लेख्नुपर्ने धारणा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस