कर्मचारीले पाउने अध्ययन बिदामा कडाइ : उचित कारण पेस गर्नु पर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीले पाउने अध्ययन बिदामा कडाइ : उचित कारण पेस गर्नु पर्ने


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीले पाउने अध्ययन बिदामा कडाइ गरिएको जनाउँदै उचित कारण नदेखाई बिदा नदिने स्पष्ट पारेका छन्। अध्ययन बिदाका लागि बाहिर गएका कर्मचारीहरूले जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेस गरेपछि मात्रै कर्मचारीहरूलाई विदेशमा अध्ययन गर्न जान दिने मन्त्री पण्डितले प्रष्टयाएका हुन्।

मङ्गलवार सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराए।

साथै मन्त्री पण्डितले कर्मचारीहरूले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने अडान पनि राखे। कार्यालय समयमा निजी मामिलामा फोनको दुरुपयोग कर्मचारीहरूले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने पनि मन्त्री पण्डितले बताए।

प्रतिक्रिया दिनुहोस