होटेल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

होटेल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही


१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । प्रशासनले होटेल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै महँगा होटेल र पार्टी प्यालेसमा अग्रिम बुकिङ गरी कार्यक्रम र भोजभतेर गर्नेलाई कारबाही कारबाही हुने जनाएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष १५ भदौमा दर खाने र १६ भदौमा तीज पर्व परेको छ ।

तीज आउनु एक महिना अगाडी देखि नै दर खाने र भेटघाट कार्यक्रमका नाममा प्रचार प्रसार, अग्रिम टिकट बुकिङ र होटेल तथा पार्टी प्यालेस बुकिङ हुन थालेको भन्ने सूचनाका आधारमा तीजको मौलिकतामाथि नै आँच आउने प्रकृतिका फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साङ्गीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण तथा होटेल एवं पार्टी प्यालेसमा हुने दर खाने कार्यक्रमलगायतका खर्चिला कार्यक्रमले हिन्दु नारीहरूले मनाउने मौलिक चाडको मौलिकतामाथि नै प्रश्न उठाएको भनी प्राप्त ध्यानाकर्षण पत्रपछि प्रशासनले सूचना जारी गरेको हो ।

समाजमा बढ्दो तडकभडकलाई न्यून गर्न, ध्वनि प्रदूषण हुन नदिन, फजुल खर्चलाई कटौती गर्न तथा समाजको मौलिक परम्परा गजेर्ना गर्ने किसिमले नेपाली मौलिक परम्परा र समाजको सहनशीलताको तहसमेतलाई ख्याल गरी मौलिक परम्परा अनुसार तीन मनाउन अनुरोध छ, प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै सूचनाको बर्खिलाप हुने गरी भए/गरेका कार्यक्रमहरूको जिल्ला प्रशासनले सूक्ष्म निगरानी राखी कानुन अनुसार कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस