पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी


१३ श्रावण २०७६, सोमबार


खोटाङ । जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको छ । पहिले छरिएको मकै तथा अन्य बाली खडेरीले सुकेपछि पुनः मकै छर्ने काम शुरु गरिएको कृषकले बताएका छन् ।

लामो समयको खडेरीले सबै बाली सखाप पारेपछि पाकेर थन्क्याउने बेलामा पुनः मकै छर्न थालिएको दुर्छिमका स्थानीयवासी तामन राईले बताए । ‘हाम्रो दुर्छिममा २०३२ सालमा पनि साउनमा मात्रै मकै छरिएको रहेछ’, उनले भने,’उस बेला सामान्य उत्पादन भएको थियो रे १ यस वर्ष पनि लामो समयको खडेरीले भर्खर मात्र मकै छर्दैछौँ ।’

मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेती मात्र हुने सुख्खाग्रस्त क्षेत्रमा लामो समयको खडेरीले असर गरेपछि ज्यालादारीको काम खोज्न शहर पसेका स्थानीयवासीसमेत अहिले गाउँ फर्किएर मकै छर्नमा व्यस्त छन् । खानेपानीसमेत आकाशबाट झरेको वर्षातको पानी सङ्कलन गरेर उपभोग गर्दै आएका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न शहर पसेका थिए ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने देखिएको छ । दैनिक छाक टार्नका लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरीले सखाप पारेपछि खुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी अहिले चिन्तित बनेका छन् ।

सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न अभाव हुन नदिन यस वर्षको नगरपरिषद्बाटै बजेट विनियोजन गरिएको नगरप्रमुख इवन राईले बताए । ‘खडेरीले यो नगरपालिकामा ठूलो असर गरेको छ’, उनले भने, ‘अधिकांश नगरवासीको घरमा अहिले अन्नको दाना छैन । नगरवासीलाई भोकमरीबाट बचाउन राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।’

खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई राहत अनुदानबापतको रकमबाट खाद्यान्न खरिद गरेर वितरण गरिने नगरपालिकाले जनाएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयवासीको खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नगरेको नगरप्रमुख राईले जानकारी दिए । लामो समयको खडेरीले पारेको असरका बारेमा अनुगमन गर्न प्रदेशसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य राजन राई नेतृत्वको टोलीसमेत सुख्खाग्रस्त क्षेत्रमा पुगेको छ । आगामी दिनमा खडेरीले असर नगर्ने किसिमको बाली कुन लगाउन सकिन्छ भन्ने विकल्पको खोजी गर्न टोली सुख्खाग्रस्त क्षेत्र पुगेको जनाइएको छ ।

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । “खोटाङको पहाडी भूभागमा गत वैशाख/जेठमै खेती लगाई सक्नुपर्छ”, उनले भने, ‘असार २३ गतेसम्म खडेरी लागेपछि खेती लगाउन नपाउँदा कतिपय ठाउँमा बसोबास गर्ने कृषकको खेतबारी बाँझै रहेको छ ।’

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । खडेरीका कारण लेकाली भेगमा लगाइएको मकैलाई असर गर्नाका साथै बेँसी क्षेत्रमा धान रोपाइँ गर्न समस्या भएको कृषकले बताएका छन् ।

खडेरीका कारण जिल्लामा अहिलेसम्म ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत असार मसान्तभित्र लगभग रोपाइँको काम सकिने जिल्लामा अहिलेसम्म पनि नसकिँदा उत्पादनमा गिरावट आउने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस