तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच


१२ श्रावण २०७६, आइतबार


तनहुँ । आर्थिक बर्ष ०७५/७६ सम्म तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले एक हजार नयाँ घरधुरीमा बिजुली विस्तारपश्चात् जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको हो ।

बाँकी १५ प्रतिशत घरधुरीमा पनि छिट्टै बिजुली विस्तार गरी विद्युत् पहुँच पुर्‍याउने योजनाका साथ प्रक्रिया अघि बढाइसकिएको कार्यालय प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले बताए । उनका अनुसार जिल्लाको देवघाट, रिसिङ, बन्दीपुर र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुगेको छैन । उनले भने, ‘कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरिसकेको छ ।’

उनले आँबुखैरेनीको छापस्वाँरा, व्यासको सुँढे, बागभञ्ज्याङ, शीतलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, भानुको खहरे, जुनडाँडा, साराङघाट, ग्याजाटार, बन्दिपुरको तीनधारा जुनडाँडा भानुको खहरे, भन्सार, म्याग्देको मुलावारी, ओटाङ्दी र मिलनचोकम ट्रान्सफर्मर थप गरिएको हो भने ।

कार्यालयले सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण बस्तीमा बिजुली सेवा विस्तार गर्ने योजना रहेको छ ।

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायत बुद्धसिंमार्ग छेउछाउका बस्तीमा विद्युतीकरण विस्तार गरिने कार्यालय प्रमुख गोशलीले जानकारी दिए ।

‘आर्थिक वर्ष ०७५/७६ मा दुई हजार १०७ नयाँ ग्राहक थपिएको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ३४ हजार ११६ ग्राहक रहेकामा ०७५/७६ मा ३६ हजार २२३ ग्राहकले विद्युत् सेवा उपभोग गरिरहेका छन्’, केन्द्रप्रमुख गोशलीले भने । ‘केन्द्रले गत वर्षको तुलनामा आव ०७५/७६ मा रु पाँच करोड दश लाख २९ हजार ४२ भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।’

आव ०७५/७६ मा तीन करोड ६१ लाख १९ हजार ३४२ युनिट विद्युत् बिक्री गरेर रु ३८ करोड ४४ लाख १० हजार ९३१ सङ्कलन गरेको छ भने आव ०७४/७५ मा तीन करोड ४१ लाख ९५ हजार २०६ युनिट विद्युत् बिक्री गरी रु ३३ करोड २९ लाख ८१ हजार ८८८ राजश्व सङ्कलन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस