प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक पारित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक पारित


१० श्रावण २०७६, शुक्रबार


पोखरा । गण्डकी प्रदेशसभाले प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार एवं कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ततु गरेको प्रस्तावलाई सभाले पारित गरेको हो ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले सरकार सञ्चालनमा आवश्यक पर्ने जनशक्ति आफैंले छनोट गर्ने गरी प्रदेशमा आयोग गठन हुनु आफैमा महत्वपूर्ण हुने बताए ।

केन्द्रमा लोकसेवा आयोगले कायम गरेको मूल्य मान्यता र गरिमालाई आत्मसात गर्दै प्रदेश लोकसेवा आयोगले पनि आफ्नो भूमिका स्थापित गर्नुपर्ने उनीहरुले भनाइ थियो । छलफलमा प्रदेशसभा सदस्य मधुमाया अधिकारी गुरुङ, डोवाटे विश्वकर्मा र पुष्पा केसी भण्डारीले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले प्रदेश लोकसेवा आयोगले केन्द्रमा लोक सेवा आयोगले हासिल गरेको विश्वासलाई प्रदेशमा पनि कायम गरिने विश्वास व्यक्त गरे ।

बैठकले पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।

यसअघि विधेयक माथिको सामान्य छलफलमा प्रदेशसभा सदस्यहरूले सुविधा थप हुँदै जाँदा जनताका अपेक्षा पूरा भए वा भएनन् त्यसतर्फ गम्भीर बन्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जनताका अपेक्षा के छन् त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । सेवा सुविधा थपभन्दा पनि प्रदेशमा जनताको आयस्तर कसरी बढाउनेतर्फ गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य आशा कोइरालाले आदर्शभन्दा पनि व्यवहारिकतालाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य हरिशरण आचार्यले संसद्को गरिमा र मूल्य मान्यता कायम राख्न सरकारसँग आग्रह गरे । प्रदेशसभा सदस्य मनकुमारी गुरुङले पटक/पटक संशोधन गर्नुपर्ने अवस्थाले संसद् महँगो हुने चर्चा गर्दै जनताको मुहारमा कति परिवर्तन गर्न सकिन्छ त्यो नै महत्वपूर्ण पक्ष भएको बताए ।

आजको बैठमा विशेष समयमा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले हालै गएको बाढीपहिराका कारण भएको क्षतिबारे जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस