सार्वजनिक सेवा वडापत्र र यसका उद्देश्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक सेवा वडापत्र र यसका उद्देश्य


ललित कुमार बस्नेत

९ श्रावण २०७६, बिहिबार


सार्वजनिक सेवा वडापत्रका उद्देश्यहरूमाथि प्रकाश पार्दै यसका फाइदाहरू उल्लेख गर्नुहोस् ।
Shading light on the objectives of “Public service charter”, mention its benefits. 5±5  

नागरिक वडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायहरूले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता(written commitment of the service provider towards its citizens in respect of service and service receiving process) हो । सार्वजनिक निकायबाट सेवा प्रापकको रूपमा सम्बन्धित राज्यका नागरिक मात्र नभएर अन्य देशका नागरिक तथा संस्थाहरू समेत रहने भएकोले आजभोलि नागरिक वडापत्रको सट्टा सार्वजनिक सेवा वडापत्र(Public Service Charter)  भन्ने प्रचलन बढ्दै गएको छ ।

सार्वजनिक सेवा प्रवाहमा सार्वभौमसत्ताको नियम(Principle of Sovereignty) अनुसार, राज्यको मालिक भनेका सार्वभौमसत्ता सम्पन्न जनता हुन् । तसर्थ राज्य र यसका निकायहरूले जनतालाई मालिक र आफूलाई सेवक मानी जनतालाई छिटो छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्नको लागि सधैँ क्रियाशील हुनुपर्छ । सार्वजनिक सेवा प्रदायकलाई आफ्नासेवाग्राही प्रति थप उत्तरदायी र जबाफदेही बनाएर सार्वजनिक सेवामा सुधार गर्ने नवीन साधन(innovative device) हो, सार्वजनिक सेवा वडापत्र ।

यसको प्रमुख उद्देश्य भनेको सार्वजनिक सेवाको गुणस्तर बढाउने तथा सार्वजनिक निकायलाई आफ्ना सेवाग्राहीप्रति उत्तरदायी र जबाफदेही बनाउनु हो । बुँदागत रूपमा यसका उद्देश्यहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

१. प्रशासनलाई जनउत्तरदायी तथा नागरिक मैत्री बनाउने ।
२. कानुनको शासनलाई प्रत्याभूति गर्ने ।
३. सार्वजनिक निकायहरूमा पारदर्शिताको प्रवर्द्धन गर्ने ।
४. सरकारी काम कारबाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने ।
५. सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठ पोषण प्राप्त गर्ने ।
६. सेवा प्रदायक तथा सेवाग्राहीको समयको बचत गर्ने ।
७. सेवाग्राहीको सशक्तीकरण गर्ने ।
८. दण्ड पुरस्कार प्रणालीको विकास गर्ने ।
९. समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने ।

सार्वजनिक सेवा वडापत्रका फाइदाहरू: 
माथि लेखिएका उद्देश्यहरूबाट पनि सार्वजनिक वडापत्रका फाइदाहरू बोध हुन्छ । सार्वजनिक वडापत्रका फाइदाहरूलाई बुँदागत रूपले निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

१. सेवाग्राहीले सजिलोसँग सार्वजनिक सेवा प्राप्त गर्न सक्छन् ।
२. सार्वजनिक निकायमा बिचौलिया र गलत कर्मचारीहरूबाट सेवाग्राही ठगिने अवस्थाको अन्त्य हुने ।
३. सेवा प्रदायक सार्वजनिक कर्मचारीहरूलाई सेवा प्रदान गर्न कुन कुन कागजात हेर्ने, कति शुल्क वा दस्तुर लिने, कति समयभित्र सेवा प्रवाह गरिसक्ने कुराको मार्गदर्शन भई सेवा प्रवाहमा देखिने अन्यौलता हट्छ ।
४. वडापत्रमा नै उजुरी गर्ने व्यवस्थाले सार्वजनिक सेवा प्रवाहमा सुधारको लागि समयमै जनताको पृष्ठ पोषण(feedback) प्राप्त हुन्छ ।
छ।
५. सेवा प्रवाहलाई सरल, पारदर्शी र गुणस्तरीय बनाउन सकिन्छ ।

निष्कर्ष 
सार्वजनिक सेवा वडापत्र सार्वजनिक सेवा प्रदायकलाई आफ्नासेवाग्राही प्रति थप उत्तरदायी र जबाफदेही बनाएर सार्वजनिक सेवामा सुधार गर्ने नवीन साधन(innovative device) हो । नेपालले नयाँ शासन प्रणालीको अवलम्बन गरेसँगै प्रभावकारी सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रति आम जनताको बढ्दो माग र आकाङ्क्षा सम्बोधन गर्न सार्वजनिक सेवा वडापत्रलाई प्रभावकारी रूपमा लागू गर्न वाञ्छनीय देखिएकोले यसतर्फ सरोकारवाला सबैको बेलैमा ध्यान जान जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस