कर्मचारीका समस्याबारे प्रधानमन्त्रीको चाँसो, आधिकारीक ट्रेड युनियनसँग छुट्टै बस्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीका समस्याबारे प्रधानमन्त्रीको चाँसो, आधिकारीक ट्रेड युनियनसँग छुट्टै बस्ने


प्रशासन विशेष ब्युरो

८ श्रावण २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीका समस्याहरुबारे आधिकारीक ट्रेड युनियनसँग छुट्टै छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरणका लागि बुधबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुलाई संघीय निजामती सेवा ऐनदेखि अन्य समस्याहरुका बारेमा केही दिन भित्रै छुट्टै बसेर छलफल गर्ने बताएका हुन् ।

‘कर्मचारीका समस्याको विषयमा म तपाईहरुसँग छुट्टै बस्छु’ प्रधानमन्त्री ओलीले भने ‘आधिकारिक ट्रेड युनियनमार्फ सरकारले गुनासाहरु सुन्छ ।’

लोकतन्त्र, सुशासन र विकासप्रति प्रतिबद्ध सरकारले कर्मचारीका समस्याको सुनुवाई र सम्बोधन गर्ने विश्वास दिलाउँदै जायज मागका लागि आन्दोलन नै गर्न नपर्ने बताए ।

मन्त्रीपरिषद्ले गरेका निर्णयको कार्यान्वयन गर्ने कर्मचारी नै भएको बताउँदै कर्मचारीको सहयोगविना प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन नसकिने उनको भनाई छ ।

सरकारले कर्मचारी युनियन खारेज गर्न खोजेको छ भन्ने विषयमा पनि भ्रममा नपर्न आग्रह गरे । ‘यो हल्ला मात्रै हो’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष भोला पोेखरेलले प्रशासनसँग भने ‘ढुक्क भएर काम गर्नुस् आधिकारीक ट्रेड युनियन रहन्छ भन्नुभयो ।’

‘प्रधानमन्त्री आफैले ट्रेड युनियन राख्ने भनेर सामान्य प्रशासन मन्त्रीलाई लेखेरै दिएको भएर ट्रेड युनियन खारेज गर्नुहुन्छ भन्ने विषयमा मलाई विश्वास थिएन’, उपाध्यक्ष पोखरेलले भने ‘आज प्रधानमन्त्रीज्यूले थप विश्वास दिलाउनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस