पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण


३ श्रावण २०७६, शुक्रबार


बेझाड । पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ६५२ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो ।

भूकम्पले क्षति पुर्‍याएका चार हजार ६५२ घरधुरीमध्ये चार हजार २२६ घरपरिवारले पहिलो किस्ता र दुई हजार ११६ दोस्रो किस्ता र एक हजार २७५ घरपरिवारले तेस्रो किस्ताको रकम लिइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइका प्रमुख प्रेमनारायण बस्यालले जानकारी दिए ।

सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको उनले जानकारी दिए ।

उनका अनुसार आव २०७५/०७६ मा लाभग्राहीको सूचीमा परेकाका लागि रु ३२ करोड ५६ लाख ३८ हजार प्राप्त भएकामा रु २९ करोड ७१ लाख खर्च भएको छ । अनुदानतर्फ ९१ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

त्यस्तै पूँजीगततर्फ रु २२ करोड ६५ लाख ९६ हजार प्राप्त भएको बजेटमा रु १७ करोड ८४ लाख २२ हजार खर्च भएको छ । जसमा ७८ दशमलव ७५ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

आव २०७५÷०७६ मा २१ वटा विद्यालय भवन निर्माण भएको छ । तीन कोठे चार वटा र दुई कोठे १७ वटा भूकम्प प्रभावित भवन निर्माण भएको हो । चार कोठे १५ वटा क्रमागत (दुई वर्षमा सम्पन्न हुने) भवन भने निर्माण भइरहेको छ ।

आगामी वर्षका लागि जिल्लामा ४८ वटा विद्यालय भवन र ४५ वटा शौचालय निर्माण गर्ने योजना रहेको जनाइएको छ । यसमा धेरै विद्यालयले सम्झौता गरी पेश्की रकम लिइसकेका छन् भने केही विद्यालयको सम्झौता गर्न ढिलो भएकाले पेश्की उपलब्ध गराउन बाँकी छ । नयाँ थप भएका ४८ वटा विद्यालयअन्तर्गत दुई कोठे २० वटा, तीन कोठे चार वटा, चार कोठे २४ वटा छन् ।

प्रतिक्रिया दिनुहोस