स्थानीय तहको परीक्षामा कडाइ, झोला र मोबाइल लैजान प्रतिबन्ध ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको परीक्षामा कडाइ, झोला र मोबाइल लैजान प्रतिबन्ध !


३ श्रावण २०७६, शुक्रबार


काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापनको परीक्षा आजबाट देशभर सुरु हुँदै छ । काठमाडौं उपत्यकासहित सबै परीक्षा केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

परीक्षार्थीहरुलाई झोला र मोबाइलसमेत परीक्षा केन्द्रको गेटभन्दा भित्र लैजान निषेध गरिएको छ । यसअघि परीक्षार्थीहरुलाई परीक्षा हलभित्रै झोला र मोबाइल लैजान दिइन्थ्यो । तर, ती झोला र मोबाइल निरीक्षकले तोकिदिएको स्थानमा राखेर मात्र परीक्षामा बस्न पाइन्थ्यो ।

तर, आजबाट सुरु हुन लागेको परीक्षामा भने गेटबाट पनि भित्र लैजान निषेध गरिएको छ । लोक सेवा आयोगले सूचना जारी गर्दै भनेको छ, ‘परीक्षालाई मर्या्दित बनाउन परीक्षामा सामेल हुने परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । त्यस्ता सामाग्रीहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने व्यहोरा सूचित गरिन्छ ।’

सरकारको आग्रहमा लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १४१ दरखास्त परेको छ ।

आदिवासी जनजातीको कोटामा ४३ हजार ३२०, मधेसी कोटामा २४ हजार ९०, दलितमा ३ हजार ९१, पिछडिएको क्षेत्रमा ११६, अपांगमा १४६ र महिला कोटामा १ लाख ३ हजार ५ सय ६७ दरखास्त परेका लोक सेवाले जनाएको छ । आजबाट सुरु परीक्षा साउन महिनाभर चल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस