राजनीतिकर्मीले कर्मचारीलाई किन खराब देख्छन् ? « प्रशासन

राजनीतिकर्मीले कर्मचारीलाई किन खराब देख्छन् ?


प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार ०७:१४

काठमाडौँ । यतिबेला कर्मचारीतन्त्रमाथि चौतर्फि प्रहार भईरहेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमाथि भईरहेको दफावार छलफलले कर्मचारीबारे थप चर्चापरिचर्चा शुरु भएको छ ।

विधेयकमा प्रस्तावित कतिपय व्यवस्थाबारे संसदले उठाएका प्रश्नहरु र जोड घटाउका प्रस्तावहरुले कर्मचारी र राजनीतिज्ञ बीच चिसोपना मात्रै ल्याएको छैन, खुल्लारुपमा नै बादविवादमा उत्रिएको अवस्था छ ।

यसैबीच पूर्व सचिव शारदा प्रसाद त्रिताले राजनीतिकर्मीहरुले प्रशासनयन्त्र विरुद्ध खुलेर लाग्नुका पछाडीका कारणहरु उल्लेख गरेका छन् । नेता, कार्यकर्ता तथा मन्त्रिमण्डलका सदस्यसमेतले इतिहासमै सबैभन्दा बढी आलोचना गर्ने गरेको र प्रशासनयन्त्र विरुद्ध खुलेर लाग्नुका पछाडीका ६ वटा कारणमध्ये पहिलो कारण रहेको छ अधिकांश नेता तथा कार्यकर्ताको संगत त्यस्ता कर्मचारीसँग हुन्छ जो कामचोर, भ्रष्ट र कम ज्ञान सीप भएको हुन्छ किन कि यस्ता कर्मचारी मात्र नेता तथा कार्यकर्ताकोमा धाएर उनिहरुलाई जसरी पनि आफुप्रति आकर्षण गराउन प्रयास गरिरहेका हुन्छन् । अधिकांश नेताहरुले यिनकै मात्र कुरा सुन्ने गरेको पाइन्छ ।

त्यसैगरी उनले दोस्रो कारणमा प्रायः सबै भ्रष्ट कर्मचारीले मन्त्री, नेता तथा कार्यकर्तालाई चुनाव खर्च लगायत अन्य दैनिक खर्चमा सहयोग गरेका हुन्छन् । र ती राजनीतिककर्मीले सबै कर्मचारी यस्तै भ्रष्ट र हुने खाने हुन्छन् भन्ने धारणा बनाएका हुन्छन् ।

तेस्रोमा नेपालका राजनीतिक दलहरुले लोकतन्त्रमा प्रशासनयन्त्रको मर्म र भूमिका बारेमा स्पस्ट दृष्टिकोण बनाउन सकेका छैनन् जसले गर्दा हरेक राजनीतिक व्यक्तिले राजनीतिक सोच भन्दा पनि व्यक्तिगत सोचका आधारमा कर्मचारीका सम्बन्धमा आफ्नो धारणा राख्ने गर्छन् भन्ने उल्लेख छ भने चौथो कारणमा इमानदार र योग्य कर्मचारी नेताहरुकोमा धाउँदैनन् र कानून विपरीत कुनै पनि किसिमको सहयोग गर्दैनन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ भन्ने त्रितालको धारणा छ ।

त्यस्तै पाँचौ कारणमा इमानदार र योग्य कर्मचारीले कानून र पद्धति नाघेर काम गर्दैनन् । कानून र पद्धति मिचेर काम गराउन चाहने नेताहरु ती कर्मचारीप्रति नकारात्मक हुन्छन् भन्ने छ भने छैटौँ कारण भ्रष्ट र कामचोरहरुले इमान्दार कर्मचारीको बारेमा गलत सूचना नेताहरुलाई दिन्छन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस