नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न


१ श्रावण २०७६, बुधबार


काठमाडौं । नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गरे । उनीहरुले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।

सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञता र महत्त्वपूर्ण भूमिकालाई मनन गर्दै तथा प्राज्ञिक गतिविधिहरूको निर्बाध सञ्चालनमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न र नेपाल प्रहरीमा निहित सुरक्षा सम्बन्धी विज्ञताको प्राज्ञिक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन् ।

उक्त अवसरमा त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति प्रा।डा। खनियाँले सम्झौतापत्रका विषयवस्तु ज्यादै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल प्रहरीले गर्ने सेवामा विश्‍वविद्यालयकोतर्फबाट गर्नुपर्ने योगदान दिन विश्‍वविद्यालय तयार रहेको बताए। आपसी सहकार्यबाट समाजलाई दिने सेवालाई उत्पादनमूलक र मूल्यवान बनाउन सकिने भएकाले समझदारीको प्रभावकारी एवं शीघ्र कार्यान्वयनको लागि समझदारीका विषयवस्तुलाई प्राथमिकता तोकेर लक्षित टीम बनाई काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

विश्‍वविद्यालयले लामो समयदेखि अन्तर्राष्ट्रिय रुपमा सहकार्यको संस्कृति अगाडि बढाएको भए पनि राष्ट्रिय रुपमा नेपाल प्रहरीसँग नै पहिलो समझदारी भएको उल्लेख गर्दै उपकुलपति प्रा.डा. खनियाँले अबका दिनमा कामबाटै एकअर्कालाई योगदान गर्ने नयाँ अवस्थाको थालनीसँगै थुप्रै कुरामा मिलेर जान सकिने बताए ।

त्रिभुवन विश्‍वविद्यालयका विद्यार्थीहरुले नेपाल प्रहरी मार्फत योगदान पुर्‍याइरहेको चर्चा गर्दै त्रिभुवन विश्‍वविद्यालयको अध्यापन गुणस्तरीय हुँदा सो बाट नेपाल प्रहरीका अधिकृतहरुको सेवा प्रवाह समेत गुणस्तरीय हुन सहयोग पुग्ने उनले चर्चा गरे । यस साझेदारीको माध्यमबाट हुने विचार, अनुभव र विज्ञताको आदान-प्रदानबाट व्यावसायिक कार्यसम्पादन अभिवृद्धि गर्न सहयोग पुग्ने समेत उनले बताए ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर महत्वपूर्ण भएकाले उपलब्धीपूर्ण हुने विश्‍वास व्यक्त गरे । मर्यादित मानिने सुरक्षा निकाय र अध्ययन अध्यापन क्षेत्रसँगको सहकार्यलाई नियमित रुपमा अगाडि बढाउँदै थप उपलब्धीमुलक बनाउन तत्कालै समझदारी कार्यान्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस