महानगरबाट व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महानगरबाट व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई


१ श्रावण २०७६, बुधबार


चितवन । व्यवसाय कर सङ्कलनमा सहयोग पुर्‍याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग संघ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो ।

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो ।

सोमध्येबाट उद्योग वाणिज्य संघलाई रु २३ लाख ८३ हजार ९७० र उद्योग संघलाई रु १४ लाख ३० हजार ३८२ प्रदान गरिएको हो । असार २२ गतेसम्मको सङ्कलित रकमबाट भुक्तानी गरिएको महानगरले जनाएको छ । गत आर्थिक वर्ष भरमा रु पाँच करोड १९ लाख ५० हजार ९७६ सङ्कलन भएको महानगरले जनाएको छ । बाँकी रकम चालू आर्थिक वर्षमा थप गरेर भुक्तानी पाउने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी भरतपुर महानगरले चितवन उद्योग सङ्घलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।

महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताए । महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताए । संघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र पौडेलले सो रकम कर सङ्कलनमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस