अवरुद्ध विद्युत् प्रणाली बुधबारसम्म पूर्ववत् अवस्थामा ल्याइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवरुद्ध विद्युत् प्रणाली बुधबारसम्म पूर्ववत् अवस्थामा ल्याइने


३१ असार २०७६, मंगलबार


काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध भएका विद्युत् प्रसारण प्रणालीको मर्मत बुधबारसम्म सम्पन्न भइसक्ने जनाएको छ ।

यही असार २६ गतेदेखि देशव्यापी रुपमा परेको अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ का विभिन्न स्थानमा विद्युत् प्रसारण अवरुद्ध भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने, ‘बाढी पहिरोका कारण अवरुद्ध भएका विद्युत् प्रसारण बुधबारदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’

विद्युतीय दुर्घटना निम्तने भन्दै नेपाल विद्युत् प्राधिकरणले प्रभावित जिल्लामा विद्युत् प्रवाह रोकेको थियो । जसबाट दूरसञ्चार सेवासमेत अवरुद्ध हुन पुगेको थियो । विशेष गरी रौतहट, सर्लाही, सुनसरीलगायतका जिल्लामा विद्युत् प्रवाहमा समस्या देखिएको थियो ।

विपद्का समयमा मुलुकभर विद्युत् माग घटेर करीब ६०० मेगावाटमा सीमित भएको थियो । जसका कारण बढी भएको विद्युत् भारत निर्यात गरिएको थियो । मन्त्री पुनले पहिरोका कारण काबेली करिडोरको ८२ नं टावरमा समस्या आएपछि तत्कालै मर्मत गरिएको समेत जानकारी दिए । सो करिडोरको स्थानीय लोहेन्द्रा र धन्सार खोलाले कटान गर्दा उक्त टावरमा समस्या देखिएको थियो ।

प्राकृतिक प्रकोपबाट विद्युत् प्रणालीमा भएको क्षतिका विवरण सङ्कलनको चरणमा रहेको जानकारी दिँदै मन्त्री पुनले तत्कालै क्षतिको विवरण उपलब्ध हुन केही दिन लाग्ने बताए ।

जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि मकवानपुरमा अवस्थित इन्द्रसरोवरमा जलसतह वृद्धि हुँदा कुलेखानी जलविद्युत् आयोजना २४ सै घन्टा सञ्चालनमा ल्याउनु परेको उनले जानकारी दिए । सामान्यतयाः असोज १५ मा मात्र भरिने उक्त जलाशय यसपटक भने असारमै भरिएको थियो । कूल एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता भए पनि ‘गोरखा भूकम्प’पछि एक हजार ५२६ मिटरसम्म मात्र पानी जमाउने गरिएको छ ।

आयोजना पूर्ण क्षमतामा चलाउँदा प्रतिघन्टा तीन सेन्टिमिटर मात्रै पानी घट्ने तर जलाधार क्षेत्रबाट ६० सेन्टिमिटरका हाराहारीमा पानी जम्मा भएपछि व्यवस्थापन गर्न चुनौतिपूर्ण बनेको हो ।

तत्काल भारी वर्षाको सम्भावना छैन : विभाग

सोही अवसरमा जल तथा मौसम विज्ञान विभागले अब तत्काल भारी वर्षाका सम्भावना नरहेको जनाएको छ । विभागका प्रमुख एवं मौसमविद् सुमनकुमार रेग्मीले विभागको अध्ययनअनुसार तत्कालै पछिल्लो साताको जस्तो भारी वर्षाको सम्भावना नरहेको बताए ।

यस्तै बाढी पूर्वानुमान महाशाखाका प्रमुख राजेन्द्र शर्माले बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न पूर्वानुमानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको बताए । असार अन्तिम साता भारी वर्षा हुने र तटीय क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने पूर्वानुमान गर्दै महाशाखाले सम्बन्धित क्षेत्रमा पाँच लाखभन्दा बढी मोबाइलमा एसएमएस पठाइएको उनले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस