राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने


३१ असार २०७६, मंगलबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति सेयर १०० अङ्कित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसी क्यापिटल लिमिटेडको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायीको ०.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ। बैंकले प्रिमियमसहितको मूल्य तोकेको छ। यस आधारमा कूल सेयरको मूल्य १ अर्ब ७८ करोड ५३ लाख ४८ हजार ६ सय ४८ रुपैयाँ बराबर हुनेछ।

बैंकले बिक्री गर्न लागेको सेयरको न्यूतनम मूल्य प्रतिसेयर १ हजार ३२ रुपैयाँ तोकिएको छ। तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरेर समेत आवेदन दिन सकिने बैंकले जनाएको छ। सूचनामा भनिएको छ, ‘प्रतिकित्ता के कति दरमा खरिद गर्न कबुल गर्ने हो, त्यसको विवरणसहित गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ।’

सेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको कूल सेयर पूँजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुने गरी प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदकको बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आफ्नो संस्थाको दर्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, सेयर खरिद गर्नेसम्बन्धी सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र आवेदक संस्थाका सञ्चालक तथा प्रमुखको व्यावसायिक विवरणसमेत पेस गर्नुपर्नेछ।

प्राप्त आवेदन आगामी भदौ ४ गते बिहान केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन विभागमा खोलिनेछ। बोलपत्र पेस गर्नका लागि नेपाल स्टक एक्स्चेन्जबाट घोषणा हुने लाभांश सेयर तथा लाभांश प्रस्तावित खरिदकर्ताले प्राप्त गर्नेछन्।

बैंकका अनुसार सेयर खरिद(बिक्रीको अन्य प्रक्रिया प्रचलित कानुनअनुसार हुने सूचनामा उल्लेख छ। खरिदकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको प्रस्तावित कूल मूल्यको पाँचदेखि १० प्रतिशतसम्मको रकम केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्नेछ।

केन्द्रीय बैंकले लामो समयदेखि नै स्टकको सेयर बिक्री गर्ने घोषणा गरेको थियो। उक्त घोषणालगत्तै सम्पत्ति र सेयर संरचनाको मूल्याङ्कनसमेत गरिएको थियो। सोही आधारमा प्रिमियमसहितको सेयर मूल्य तोकिएको बैंकले जनाएको छ। वित्तीय क्षेत्र विकास रणनीति र नेपाल राष्ट्र बैंक ऐनअनुसार नै सेयर बिक्री गर्न लागिएको हो। रासस

प्रतिक्रिया दिनुहोस