लोक सेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग


२९ असार २०७६, आइतबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तर्क्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानका लागि नेपाल प्रहरी तत्पर छ”, उनले भने । नेपाल प्रहरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समुदाय–प्रहरी साझेदारीमा समावेश गरेको उनको भनाइ थियो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानूनको पालना गरेर अगाडि बढे प्रहरीले सहयोग गर्ने विश्वास व्यक्त गरे । “संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारलाई ‘ग्यारेन्टी’ गरेकोले सम्मानित भएर बाँच्नका लागि बाटोमा होइन, नयाँ जागिरको खोजी गर्नुपर्छ”, उनले भने ।

टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले खुलारूपमा यौन व्यवसाय सञ्चालन गर्न कानूनले नदिएको भन्दै व्यापार व्यवसाय गरेर अगाडि बढ्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सुझाव दिए । खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताए ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तर्फबाट जिया केसी, अस्मिता श्रेष्ठ, अनिशा सुवेदी, सुनिता लामालगायतले आफ्नो समुदाय प्रहरी र समाजबाट अपहेलित हुनुपरेको बताउँदै आफूहरु सम्मानित भएर बाँच्न चाहेको बताएका थिए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक र हितका लागि काम गर्दै आएको निलहिरा समाजले देशभरका २७ जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको समाजका अध्यक्ष पिङ्की गुरुङले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस