काबेली करिडोर प्रसारण लाइन सकिनै लाग्दा अवरोध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काबेली करिडोर प्रसारण लाइन सकिनै लाग्दा अवरोध


२६ असार २०७६, बिहिबार


काठमाडौं । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले काबेली करिडोर प्रसारण लाइनमा नियोजित रुपमा अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको बेला भारतीय ठेकेदार कम्पनीको पेटी ठेक्का लिएका ऊर्जा उद्यमीसमेत सहभागी स्थानीय ठेकेदारले काममा अवरोध गरेको प्राधिकरणको भनाइ छ ।

सो प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवद्र्धकले प्रसारण लाइन निर्माणको आफैँ पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

“प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ’, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफैँ पेटी ठेक्का लिने र जरिवानाबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरू के हुन्छ ?’ उक्त प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ । आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको प्राधिकरणको दाबी छ ।

आयोजनाको ठेकेदार कम्पनी ज्यागुर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्सट्रक्सन कम्पनीले काममा लगाएका केही व्यक्तिले निर्माणमा विगत पाँच दिनदेखि अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेको आयोजना प्रमुख द्विवेदीको भनाइ छ ।

प्रसारण लाइनको फिदिम–अमरपुर तेस्रो खण्डमा पर्ने कूल १३ किलोमिटर प्रसारण लाइनमा करीब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । सो आयोजनाको लखनपुर–गोदक पहिलो र सोयाक–फिदिम खण्ड सञ्चालनमा आइसकेको छ । खनपुर गोदक, थापाटार र अमरपुरमा १३२/३३/११ केभी सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । तेस्रो खण्ड यही असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

पलाञ्चोक भगवती कन्सट्रक्शन रैराङ हाइड्रोपावर डेभलपमेण्टको सहायक कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेशनमा जोडिने गरी ‘कनेक्शन एग्रिमेण्ट’ भएको छ ।

प्राधिकरणसँग भएको विद्युत् खरीद–बिक्री सम्झौताअनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति अगामी साउन १ गते रहेको छ । यसैगरी अमरपुर सबस्टेशनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिनेछ ।

प्राधिकरणसँगको सम्झौताअनुसार आयोजनाको आरसिओडी गत ९ वैशाख हो । दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैँले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख द्विवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे ।

पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।

कावेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयवासीको अवरोध, रूख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।

कूल तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस