धमिलो पानी पिउन बाध्य दलित समुदाय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धमिलो पानी पिउन बाध्य दलित समुदाय


२१ असार २०७६, शनिबार


दैलेख । नारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले पनि अहिले यही पानी प्रयोग गर्न बाध्य छन् ।

शहरी खानेपानी आयोजना साहारे लागू हुने र घर÷घरमा धारा आउने भन्दै ११ वर्षअघि सो समुदायका मानिससँग धरौटी रकम मागे पनि अझै फोहर पानी खानपर्ने बाध्यता छ । धेरैले घरको पूर्जा जमानी राखेर सात हजारदेखि १२ हजारसम्म धरौटी बुझाएका र साहारे खानेपानी आयोजनाले अहिलेसम्म खानेपानीको व्यवस्थापन नगरेपछि बस्तीका मानिस धमिलो पानी खानुपर्ने बाध्यतामा रहेका बिमला सार्कीले बताए ।

एघार वर्षअघि घरमै शुद्ध खानेपानी आउने भन्दै घरको पूर्जा राखेर रकम बुझाएका बासिन्दाले अहिलेसम्म न शुद्ध पानी पाएका छन् न त भएको कुवाको संरक्षण नै भएको छ । स्थानीय वडा सरकारलेसमेत यस्तो समस्या नबुझेको स्थानीयवासीको गुनासो छ ।

मानिस नभएका बेला जङ्गलमा चर्न आएका गाईभैँसीले समेत मुख चोपेर उक्त पानी प्रयोग गर्ने गरेका छन् । स्थानीय सरकार र जिम्मेवार निकायसँग बारम्बार कुरा गर्दा पनि सुनुवाइ नभएको स्थानीय वसन्त सार्कीको गुनासो छ । खाने पानी मुहान वडा नं ५ मा परेको र पानीको प्रयोग वडा नं ४ का बासिन्दाले गर्नुपर्ने बाध्यता भएकाले कुवा मर्मतमा समस्या आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस