कर्मचारी बढुवाका लागि दुई वर्ष ग्रामीण क्षेत्रमा काम गरेको हुनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी बढुवाका लागि दुई वर्ष ग्रामीण क्षेत्रमा काम गरेको हुनुपर्ने


२१ असार २०७६, शनिबार


काठमाडौं । सांसदहरुले निजामती कर्मचारीको बढुवाका लागि कम्तीमा दुई वर्ष ग्रामीण क्षेत्रमा काम गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले ग्रामीण क्षेत्रमा दुई वर्ष काम नगरेका कर्मचारीले बढुवाका लागि निवेदन दिन नपाउने व्यवस्था संघीय निजामती ऐनमा गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

सांसदहरुले ग्रामीण क्षेत्रमा कर्मचारी नजाने समस्या अन्त्य गर्न कानूनी रुपमै व्यवस्था गर्नुपर्ने बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २८ मा ‘बढुवाका लागि उम्मेदवार हुन नपाउने’ सम्बन्धी व्यवस्था रहेको छ । यसमाथिको छलफलका क्रममा उनीहरुले यस्तो प्रस्ताव राखेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘कम्तीमा एक बर्ष ग्रामीण भेगमा बसेर काम नगरेको कर्मचारी बढुवाका लागि अयोग्य हुने’ भनेर राख्न सकिने बताएका छन् ।

नेकपा सांसद जनार्दन शर्माले एक बर्षको समय कम हुने भन्दै त्यसलाई दुई वर्ष राख्नुपर्ने प्रस्ताव राखे।

यस्तै, नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले पनि शर्माको प्रस्तावमा समर्थन गर्दै ग्रामीण भेगमा कर्मचारी हाजिर हुन नजाने समस्या रहेकाले दुई बर्ष बनाएर जान सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस