खामडाँडाका ८४ घरमा केन्द्रीय विद्युत् विस्तार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खामडाँडाका ८४ घरमा केन्द्रीय विद्युत् विस्तार


१८ असार २०७६, बुधबार


खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको रु ४६ लाख ९६ हजार ७०९ लागतमा विस्तार गरिएको विद्युत् मङ्गलबारदेखि औपचारिक उद्घाटन गरिएको छ ।

लिलिमा र खामडाँडाका ८४ घर उपभोक्ताको घरमा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शुभारम्भ गरे । लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै वडा नं१ याम्खा पूर्ण विद्युतीकरण वडा भएको विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेशकुमार महतोले बताए ।

उक्त गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्न प्राधिकरणबाट रु एक करोड बजेट आएकोमा याम्खाका लागि आर्यन कन्ट्रक्सन प्रालिले रु ४६ लाख ९६ हजार ७०९ मा ठेक्का लिएको थियो । हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा पर्ने मुख्य लाइनबाट तानिएको विद्युत् ५० केभीएको ट्रान्सफर याम्खामा जडान गरेर वितरण गरिएको स्थानीय मीनकुमार कार्कीले जानकारी दिए।

वर्षौँदेखि टुकीको भरमा रात कटाउँदै आएका याम्खाका स्थानीयवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् चौबीसै घण्टा उपयोग गर्न पाएपछि खुशी भएका छन् । सात वडा रहेको उक्त गाउँपालिकाको सबै वडामा यसै आर्थिक वर्षभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण खोटाङका अनुसार उक्त गाउँपालिकाको बतासे, टेम्मा र छितापोखरीमा विद्युत् विस्तारको काम अन्तिम चरणमा पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस