इलामका बाउन्न चिया उद्योग बन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

इलामका बाउन्न चिया उद्योग बन्द


१३ असार २०७६, शुक्रबार


इलाम । स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।

नगरपालिकाको मापदण्डअनुसार आफूहरूले चिया किनेमा चियामा करोडौं घाटा हुने भन्दै ‘सूर्योदय टी प्रोर्डक्सन’मा आवद्ध ५२ चिया उद्योग बन्द भएका हुन् । नगरपालिकाले लागू गरेको कार्यविधिमा किसानको चियाको ४० प्रतिशत चियाको कम्तीमा ४० रुपैयाँ दिनुपर्ने मापदण्ड आफूहरूलाई मान्य नहुने भन्दै उद्योगीले विरोधस्वरुप उद्योग बन्द गरेका हुन् ।

नगरपालिकाको मापदण्डमा चियाको मूल्यप्रति किलो ४० रुपैयाँ नघटाइ किसानलाई दिनुपर्ने भए पनि उद्योगीले सबै सिजनको चिया त्यो मापदण्डमा दिन नसकिने भन्दै आपत्ति जनाएका हुन् । सूर्योदय टी एशोशिएशनका सचिव गोपाल कट्टेलले भने, ‘सिजनको राम्रो चियालाई हामीले ४० मात्रै होइन ५० भन्दामाथि पनि प्रति केजी दिएका हौँ तर कुनै सिजनको चिया साह्रै थोरै मूल्यको मात्र हुन्छ, त्यो चियालाई त कसरी ४० रुपैयाँ दिनु र ?’

उनका अनुसार अहिले चियाको गुणस्तर र बजार समस्याका कारण पनि किसानको चियाको उचित मूल्य दिन नसकिएको हो । किसानले उत्पादन गरेको चियाको उद्योगले किनिदिनैपर्ने समस्याले पनि कम गुणस्तरको चिया पनि लिनुपर्नाले तोकिएको मापदण्डअनुसार मूल्य दिन नसकिएको हो ।

‘हामी अहिले चियाको बजार अभाव झेलिरहेका छौँ । यो अवस्थामा तयारी चिया भारत पुर्‍याउन पनि धेरै समय लाग्छ अनि कष्ट पनि । तर पनि किसानको चियाको मूल्य दिएकै छौ ।’ सचिव कट्टेलले भने, ‘स्थानीय तह, संघ/संस्था सबै मिलेर चियाको बजार खोज्नुपर्ने बेला आएको छ । हामी उद्योगीले मात्र कहाँ चियाको बजार धान्न सक्छौ ।’

चियाको मापदण्डअनुसार आफूहरूले मूल्य दिने तर तोकिएको मापदण्ड अनुसार मूल्य दिन नसकिने भएकाले चिया उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको एशोसिएशनमा आवद्ध उद्योगीको भनाइ छ । नगरपालिकाले कुनै पनि हिसाबले चिया मारमा पर्न नहुने बताएको छ । नगरले चिया सम्बन्धी मापदण्ड सबै पक्षसँगको छलफल र परामर्शबाटै आएकाले किसाले तोकिएको मूल्य पाउनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस