‘विकासका लागि साझा सहभागिता आवश्यक’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘विकासका लागि साझा सहभागिता आवश्यक’


९ असार २०७६, सोमबार


भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक स्वार्थले मुलुकको विकास सम्भव नभएकाले विकासमा साझा सहभागिता आवश्यक रहेको बताएका छन् ।

सूर्यविनायक नगरपालिकाको पाँचौँ नगरसभाको उद्घाटन गर्दै उनले विकास सबैको साझा अभियान भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर विकासमा सबैले हातेमालो गर्न एकताबद्ध हुनुपर्ने बताए । उनले संघीय प्रणालीअनुसार रुपान्तरित सरकारसँगै नीति, कानून, संरचना र योजनामा समेत रुपान्तरण गर्न सरकार लागिपरेको चर्चा गरे ।

मन्त्री पोखरेलले सरकारले सोचेअनुरुप प्रभावकारी ढङ्गबाट काम गर्न नसकेको बताउँदै अबको वर्ष जनताले सोचेअनुरुपकै समृद्धि र विकासमा रुपान्तरण वर्ष हुने उनको भनाइ थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा भएकाले पहिला देशलाई धनी बनाएर जनतालाई सुखी बनाउने कार्यमा सरकारले ध्यान केन्द्रित गरेको उनले बताए ।

उनले विदेशबाट आयात हुने वस्तुलाई नियन्त्रण गरी आफ्नै देशमा आवश्यक वस्तुको उत्पादनमा जोड दिने सरकारको लक्ष्य रहेको उल्लेख गरे । त्यस अवसरमा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई समृद्ध जिल्लाका रुपमा विकास गर्ने अभियान सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव निशान ढुङ्गेललगायतले भक्तपुरको नीति तथा कार्यक्रमले जनताको आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिका क्षेत्रमा रहेका १० प्रसिद्ध शिव मन्दिरको परिक्रमा गराउने गरी शिव सर्किट गुरुयोजना अघि सारेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस