रेशम चौधरीको खुट्टामा बाँधिएको चौध किलोको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रेशम चौधरीको खुट्टामा बाँधिएको चौध किलोको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन


७ असार २०७६, शनिबार


काठमाडौं । उपचाररत सांसद रेशम चौधरीको नेल खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अस्पतालमा उपाचाररत सांसद चौधरीको खुट्टामा फलामको नेल लगाएको घटना प्रति प्रधानमन्त्री ओलीले चासो राख्दै नेल खोल्न निर्देशन दिएका हुन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको बताइएको छ ।

टीकापुर हत्याकाण्डको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।

चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । समाजवादी पार्टी र राजपाका नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका छन् ।

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटी सरकारको व्यवहारको आलोचना गर्दै नेल तत्काल खोल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस