मलको अभाव हुँदा कृषक समस्यामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मलको अभाव हुँदा कृषक समस्यामा


५ असार २०७६, बिहिबार


धनगढी । वर्खे धान खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलाली र कञ्चनपुरका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारको अनुदानित मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित कार्यालयमा मल सकिएपछि अभाव भएको हो ।

मलको अभाव हुँदा समयमै धान रोपाइ गर्न नपाइने चिन्ता भएको स्थानीय किसान सेवक चौधरीले बताउछन् । ‘धानबाली रोपेको दिन नै खेतमा डिएपी मल प्रयोग गर्नुपर्ने हुन्छ, मलको अभाव छ’, उनले भने । बर्सेनी खेती गर्ने समयमा सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको चरम अभाव हुने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले युरिया र डिएपी मल सकिएको बताए ।

‘केही दिनभित्र मल आउँदै छ’, उनले भने । ढुवानीकर्ताको लापरवाहीले मल समयमै आपूर्ति हुन नसक्दा अभाव भएको हो । अनुदानित मल बिक्रेता कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जेठयता डिएपी र युरिया मल मौज्दात शून्य रहेको बताए । यी दुवै निकायले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिममा झण्डै १२ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस