नगरपालिका जमानी, खानेपानी उपभोक्ता ऋणी ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नगरपालिका जमानी, खानेपानी उपभोक्ता ऋणी !


५ असार २०७६, बिहिबार


काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय सहकारीले चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गर्न थालेका छन् । आर्थिक अवस्था कमजोर भएका करीब एक हजार आठ सय परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाउन थालिएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने, “न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाउन शुरु गरियो, उपभोक्ताले एक वर्षभित्र पनि उक्त ऋण तिर्न नसके नगरपालिकाले तिर्छ ।” उनका अनुसार स्थानीय सहकारीबाट करीब रु तीन करोड ऋण प्रवाह हुनेछ ।

पाँचखालमा खानेपानी अभावका कारण जसरी पनि योजना सम्पन्न गर्नुपर्ने भएकाले ऋण दिलाउनुबाहेक अर्को विकल्प नदेखिएपछि नगरसभामा यस्तो निर्णय गरिएको खरेलले बताए । “सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर भए पनि ऋण दिलाइनेछ”, उनले भने । परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

कूल परिवार सङ्ख्यामध्ये करीब एक हजार आठ सय ले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रकम उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ ।

दातासँग यही असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम गर्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताए । “यसका लागि तीन महीनादेखि माइकिङ तथा वडाका गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्दै आएका छौँ”, उनले भने । उनका अनुसार परियोजनाको बैंक खातामा हालसम्म रु आठ करोड जम्मा भएको छ ।

स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका छन् । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा शुल्क नलिई ९.५ प्रतिशत ब्याजदरमा एक वर्षभित्र किस्ताबन्दीमा तिर्नेगरी उपभोक्तालाई ऋणी बनाउन नपासँग सम्झौता गरेको छ । आर्थिक विकास सहकारीले आफ्ना सदस्यलाई मात्रै आठ प्रतिशतमा ऋण दिलाउने गरी नपासँग सम्झौता गर्‍यो ।

पाँचखालस्थित विन्धवासिनी सहकारीले भने एक प्रतिशत सेवा शुल्क लिएर पाँच प्रतिशत ब्याजदरमा ऋण दिन थालेको छ । सहकारी ऋण समितिका कुमार दङ्गालले भने, “खानेपानी उपभोक्तालाई सेवाभावले अधिकतम् सहुलियतदरमा ऋण प्रवाह गर्न थालेका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस