किसानको उन्नति बिना देशको विकास हुन सक्दैन : मन्त्री अर्याल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

किसानको उन्नति बिना देशको विकास हुन सक्दैन : मन्त्री अर्याल


३२ जेष्ठ २०७६, शनिबार


स्याङजा । भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताएकी छन् ।

वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताइन् ।

माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन पनि किसानहरुलाई उनले आग्रह गरिन् । नगरपालिकाका दुई वडाका ढिकिडाँडा, तमादि र अमलडाँडामा एक हजार रोपनी जमीनमा सामूहिक रुपमा गर्न लागिएको कागती खेतीलाई एउटा नमूना मोडलका रुपमा देशभर विस्तार गर्न सकिने मन्त्री अर्यालको भनाइ छ ।

कागती खेती अभियानको नेतृत्व गरिरहेका भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले पहाडबाट बसाइ सरेर तराइका साथै बजार क्षेत्र र रोजगारीका लागि विदेश जानेको सङ्ख्या बढेकाले खेती गर्ने जनशक्तिको अभावमा जमीन बाँझो हुँदै जाने क्रम बढेकाले सो अभियान सञ्चालन गरेको बताए।

तीन वर्षसम्म अन्तरबालीका रुपमा कागती खेतीभित्र तरकारी खेतीसमेत लागाइने छ । वडा नं १४ का वडा सदस्य एवं स्थानीय गोमप्रसाद लुइँटेलले बिरुवा रोप्नका लागि रुख काट्नुका साथै जमीन मिलाउने काम भइरहेको बताए । लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस