बागलुङमा ‘स्वस्थ जीवन’ अभियान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागलुङमा ‘स्वस्थ जीवन’ अभियान


३२ जेष्ठ २०७६, शनिबार


बागलुङ । ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर र योग शिविर सञ्चालन गरेको छ ।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट ३०४ ले सेवा लिएका छन् । धौलागिरि अञ्चल आयुर्वेद औषधालय, बागलुङमा शिविर चलेको थियो । “बिरामीको निःशुल्क जाँचसहित औषधि पनि वितरण गर्‍यौँ”, औषधालयका प्रमुख हरि पौडेलले भने, “५० जनाले प्रयोगशाला सेवा पनि लिएका छन् ।” शिविरमा पोखरादेखि आएका विशेषज्ञ आयुर्वेद चिकित्सक कमल शर्मा, कमलराज अधिकारीलगायतले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

बिहीबारदेखि शुरु भएको योग शिविर भने आजसम्म चल्नेछ । स्वस्थ जीवनयापनमा सघाउने उद्देश्यले मन्त्रालयले निःशुल्क योग शिविर सञ्चालन गरेको हो । शिविरमा योग गुरु डा योगी विकासानन्दले सहजीकरण गरिरहेका छन् । योग साधनाका विधिबारे शिविरमा प्रशिक्षण भइरहेको सहभागी कोपिला कँडेलले बताए । “योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहने उपायबारे राम्रो सिकाइ भएको छ”, उनले भने । शिविरमा दैनिक ४०० को सहभागिता छ ।

मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको छ । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने मन्त्रालयाको उद्देश्य छ । “नसर्ने रोगको औषधि नै योगा हो”, योगी विकासानन्दले भने, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।” रासस

प्रतिक्रिया दिनुहोस