वृद्धभत्ता आफैंले बुझेको आरोपमा गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वृद्धभत्ता आफैंले बुझेको आरोपमा गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा


३१ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । सामाजिक सुरक्षा भत्ता आफैंले बुझेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालिन दुई जना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहटको साविक भसेढवा गाविसका सचिवहरु जवाहरलाल झा, जयचन्द्र जयसवाल र प्राविधिक सहायक अखलेन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले प्राविधिक सहायक यादवविरुद्ध ३३ लाख २४ हजार ३ सय ९१ रुपैयाँ, सचिव जवाहरलाल झाले ८ लाख ८१ हजार ३ सय ८५ र सचिव जयचन्द्रप्रसाद जयसवालले २ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ हिनामिना गरेको दावीसहित मुद्दा दायर गरेको हो ।

उनीहरुले साविक भसेढवा गाविसको चालु तथा पुँजीगत खर्च हिनामिना, हानिनोक्सानी गरी तथा सामाजिक सुरक्षा भत्ताको रकम आफैले बुझिलिई सार्वजनिक सम्पत्तिको हिनामिना, हानि नोक्सानी, दुरुपयोग गरेको देखिएको अख्तियारले जनाएको छ ।

सरकारी बजेट रकम खर्च गर्दा न्यूनतम रूपमा अवलम्बन गर्नुपर्ने विधि अवलम्बन नगरेको, खर्चको पुष्ट्याई हुन नसकेको, विल भरपाईको प्रमाणिकता पुष्टि हुन नसकेको, सामाजिक सुरक्षा भत्तावापत वितरण गर्नुपर्ने रकम आफ्नै वा अरु कसैको औठाछाप प्रयोग गरी आफैले बुझेको देखिएको अख्तियारले भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस