काभ्रेका ७२ घरपरिवारलाई खानेपानी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काभ्रेका ७२ घरपरिवारलाई खानेपानी


२९ जेष्ठ २०७६, बुधबार


बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।

खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मङ्गलबार उद्घाटनपश्चात समुदायलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुमागाईँले समृद्धिको मुख्य आधार अर्थोपार्जन भएको र त्यसका लागि च्यासिङखर्कको कामीडाँडा निकै सम्भावना बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसँगै तरकारी खेती गरी अर्थोपार्जनमा लाग्न आग्रह गरे ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कोष विकास समितिका सामाजिक संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारीले खानेपानी उपलब्ध भएपछि सरसफाइदेखि बालबच्चाको स्वास्थ्य र खाद्यान्नमा सुधार गर्दै सुखी जीवनयापन गर्नमा ध्यान दिन आग्रह गरे । परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष डा. सङ्ग्रामसिं लामाले समुदायको अर्थपूर्ण सहभागिताबाट नै खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गर्दै सहयोगी संस्था रहुन्जेल चल्ने र संस्था गएपछि योजना पनि तहसनहस हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

सो वडाका खलङ्गाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा खुशी व्यक्त गरे ।

अब खानेपानी ओसार्नकै लागि समय छुट्याउने दिन गएको उनले बताए । पहिला पानी अभावकै कारण वस्तुभाउसमेत धेरै पाल्न नसकेको उनको भनाइ छ । अर्का स्थानीय बासिन्दा जगतबहादुर तामाङले आउने÷जाने गर्दा तीन घण्टा हिँडेर घरदेखि तलको सिमसिमखोलाबाट पानी उपलब्ध गराएकामा अब आँगनमै पानी आएपछि धेरै सहज भएको बताए ।

करीब पाँच किलोमिटर टाढा रहेको महाभारत लेकबाट पानी ल्याई सो भेगका ७२ घरपरिवारलाई स्थानीय जनश्रमदानसहित गरी करीब रु ५२ लाखको लागतमा सो खानेपानी उपलब्ध गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस