मनसुन एक साता ढिलो भित्रिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनसुन एक साता ढिलो भित्रिने


प्रशासन संवाददाता

२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ ।

नेपालमा मनसुन आज अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए ।

‘मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ’, उनले भने ।

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरू हुने मौसमविद् आर्यालले जानकारी दिए ।

मनसुन पूर्ण सक्रिय हुनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्प्रष्टसँग देखिनपर्ने हुन्छ । न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । यसका साथै उच्च चापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ ।

सामान्यतया नेपालमा मनसुन सुरू हुने समय जुन १० हो । यसवर्ष मनसुन एक साता ढिलो गरी सुरू हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गतवर्ष जुन ८ मा मनसुन सुरू भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस