भाद्र ७ गते, २०७६

वातावरण दिवसको अभिष्ट पुरा होस्

बह्माण्डमा रहेका जति पनि जैविक तथा अजैविक अवयवहरूको सामूहिक स्वरूप र तिनीहरू बिचको सन्तुलित अन्तरक्रिया एवम् अन्तरसम्बन्धबाट उत्पन्न परिवेशलाई वातावरणको रूपमा बुझिन्छ। वातावरणको कारणले गर्दा पृथ्वीमा मानिस लगायतका सम्पूर्ण जीव जीवात्माहरु अस्तित्वमा रहेका छन्। सन्तुलित र स्वस्छ वातावरणले नै मानव जीवनलाई स्वस्थ, सुखी र खुसी तुल्याउँदछ। वातावरण, पारिस्थितिक प्रणाली र जैविक विविधता संरक्षण बिच अन्योन्याश्रित सम्बन्ध छ। जैविक विविधताको संरक्षण र पारिस्थितिक पद्धतिले वातावरण सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।

वातावरण संरक्षण कायम राख्न र वातावरणको प्राकृतिक स्वरूप क्षय गर्न मानिस स्वयं कै ठुलो भूमिका हुन्छ। मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष, जानी वा नजानीकन दिनानुदिन वातावरणको प्राकृतिक अस्तित्वलाई नष्ट गर्दै गइरहेको छ। स्वाभाविक रूपमा मानिस चेतनशील र उन्नतोन्मुख प्राणी हो। यथास्थितिलाई शिरोधार्य गरी चित्तोशान्ति गर्ने र रमाउने स्वभाव नभएको कारणले नै होला निमेष-निमेषमा उसले आफ्नो प्रगति, उन्नति र अग्रगमनका पाइलाहरू लम्काइरहेको हुन्छ। त्यसैले त आज विज्ञान तथा प्रविधिको क्षेत्रमा उसले अलौकिकता र चामत्कारिकता प्राप्त गर्न सफल भएको छ। तर यिनै उन्नति, प्रगति, विकास र चमत्कारताका नाउँमा प्रकृति र वातावरणको प्राकृतिक स्वरूप र वातावरणीय प्रभावलाई बेवास्ता गर्दा मानव जीवनको लागि अति नै महत्त्वपूर्ण पक्षको रूपमा रहेका वातावरणीय तत्त्वहरूको दिनानुदिन स्खलन भइरहेको छ।

विश्वव्यापी करण, औद्योगिकीकरण, शहरीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण आदिको अगुणकारी उपयोग, बढ्दो सवारी साधन, आणविक भट्टीको प्रयोग, प्राकृतिक स्रोत साधन माथिको अत्यधिक दोहन, जनसङ्ख्या वृद्धिमा व्यवस्थापकीय कौशलताको अभाव जस्ता मानवीय क्रियाकलापसँगै विश्वभर विशेष गरी विकसित राष्ट्रहरू र औधोगिक राष्ट्रहरूबाट भएको अत्यधिक कार्बन उत्सर्जनबाट आज विश्वव्यापी रूपमा वातावरणीय विनाश भइरहेको परिस्थिति हाम्रो सामु छर्लङ्ग छ। तथापि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, आणविक हिउँद, अम्लिय वर्षा, जैविक विविधतामा ह्रास, हरित गृह प्रभाव, ओजोन तहको विनाश आदिबाट मौसमको स्वरूपमा परिवर्तन, अतिवृष्टी, अनावृष्टी, प्राकृतिक एवम् दैविक प्रकोपजन्य भूक्षय, बाढी पहिरो, भूकम्प, खडेरी, कृषि उत्पादनमा ह्रास, मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव, खाधान्न सङ्कट जस्ता जटिलताको सामना गर्न हामी बाध्य छौँ। त्यस्तै मौसममा आएको अशोभनीय फेरबदल, पृथ्वीको तापक्रममा आएको क्रमिक वृद्धिले हिमालको हिउँ पग्लिने, सामुन्द्रिक सतहमा वृद्धि भई तटीय क्षेत्रहरू डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमतालहरू फुट्ने, हिउँ पहिरो, सुख्खा पहिरो झर्ने जस्ता खतराहरूबाट मानव जीवन प्रत्यक्ष जोखिमको सिकार बन्नुको साथै स्थलीय, जलीय पारिस्थितिक प्रणाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सङ्कटमा परिरहेको अवस्था विद्यमानता छ।

यी र यस्ता समस्याहरूबाट नेपाल पनि अछुतो छैन। विकसित र औधोगिक राष्ट्रहरूले वातावरणीय क्षेत्रमा गरेको अकर्मण्यता र हेलचक्र्याईको प्रत्यक्ष नियति भोग्नुपर्ने जस्ता बाध्यता नेपाल लगायतका कम विकसित राष्ट्रहरूको डरलाग्दो चुनौती नै बनिसकेको छ, जसको वातावरण विनाशमा नगण्य रूपमा मात्र भूमिका रहेको छ। त्यसो त नेपालले कार्बनको बढ्दो उत्सर्जनलाई न्युनिकरण गर्न योगदान पुर्‍याएबापत अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको छ। त्यस्तै विकसित तथा औद्योगिक राष्ट्रहरूसँगको कार्बन व्यापारबाट पनि नेपालले महत्त्वपूर्ण आम्दानी गर्दै आइरहेको छ।

अन्तर्राष्ट्रिय प्रयास
जलवायु परिवर्तनको एजेन्डा र वातावरणीय एजेन्डा आज विश्ववापी रूपमा सर्वाधिक चासो र चिन्तनको विषयको रूपमा रहेको छ। वर्तमान समयमा वातावरण मैत्री विकास, हरित विकास, प्रकृति मैत्री विकास जस्ता अवधारणाहरू अगाडी सारिएको छ। वर्तमानका विकासका गतिविधिहरूले भावी पुस्ताका अधिकारलाई हनन् गर्न नहुने गरी विकासलाई वातावरण सापेक्ष र सन्तुलित रूपमा अगाडी बढाइनुपर्ने मान्यताको विकास भइरहेको छ। विश्वव्यापी रूपमा विकास प्रक्रियामा आएको तीव्रतासँगै प्रकृतिमा उपलब्ध स्रोतको दिगो उपयोगद्वारा पृथ्वीको धान्न सक्ने क्षमता ह्रास हुन नदिनको लागि विश्वव्यापी रूपमा वातावरण मैत्री विकासको अवधारणा ल्याउन थालिएको हो। यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा सन् १९७२ मा यूएनइपीको स्थापना, सन् १९८३ मा गठित ब्रुटल्याण्ड कमिसनको सन् १९८७ मा पेस गरिएको प्रतिवेदन, सन् १९९२ को रियो सम्मेलनमा एजेन्डा २१ पारित, सन् १९९७ मा क्योटो प्रोटोकल पारित, सन् २००७ को वाली सम्मेलन, सन् २००९ को कोपनहेगन सम्मेलन तथा त्यसपछिका विभिन्न कोप सम्मेलनहरू (हालसम्म २४ वटा कोप सम्मेलनहरू सम्पन्न भइसकेका), जलवायु परिवर्तन र जैविक विविधता संरक्षणका लागि विश्वस्तरमा भएका विभिन्न सन्धि, महासन्धि, सम्झौता र प्रतिबद्धताहरू आदिको माध्यमबाट वातावरणीय विनाश, जैविक विविधता संरक्षणमा प्रतिकूलता, पारिस्थितिक प्रणालीमा ह्रास, हरित गृह ग्याँसको अस्वाभाविक उत्सर्जन लगायतका सवालहरूलाई एउटा गम्भीर मानवीय सङ्कटको रूपमा औँल्याई तिनीहरूको न्युनीकरणको लागि व्यक्ति स्तर देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने र वातावरण संरक्षणको लागि महत्त्वपूर्ण भूमिका वहन गर्नुपर्ने वस्तुनिष्ठ ता प्रकट गरेको छ। सोही अनुरूप अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्र सङ्घ लगायत अन्य क्षेत्रगत सङ्घ संस्था र निकायहरूले पर्यावरण संरक्षणको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेका छन्।

राष्ट्रिय प्रयास
वातावरणीय विनाश र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित हुने विश्वका थोरै देशहरू मध्ये नेपाल पनि एक हो। यस परिस्थितिको सामना गर्न अर्थात् वातावरण संरक्षण कायम गर्नको लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय रूपमा गरेका प्रतिबद्धताहरू साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपाल सहभागी भई पीडित राष्ट्रका तर्फबाट बुलन्दित सशक्त धारणाहरू ग्लामरको रूपमा रहेका छन्। त्यसै गरी नेपालले संवैधानिक रूपमा संविधानको मौलिक हक मै उल्लेख गरी वातावरण संरक्षणमा बेवास्ता गर्ने उपर कानुनी उपचारको समेत व्यवस्था गरेको छ भने राज्यको मार्ग निर्देशक सिद्धान्तको रूपमा दिगो विकासको लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दै र वातावरणको स्वच्छता कायम गरी विकास निर्माणका कार्यहरू सञ्चालन गर्नुपर्ने जस्ता संवैधानिक व्यवस्था अङ्गीकार गरेको छ। त्यस्तै नीतिगत रूपमा वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली, २०५४, सो ऐनको पहिलो संशोधित वातावरण संरक्षण ऐन, २०७५ का अलावा बन ऐन, २०४९, जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२, भू-उपयोग नीति, २०७२ समेतका नीतिहरूले वातावरण संरक्षण एवम् सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछन्।

त्यसै गरी छैटौँ योजना देखि नै वातावरण र भू-उपयोग नीति, सातौँ योजनामा विकासमा वातावरणीय प्रभाव मूल्याङ्कन, आठौँ योजनामा दिगो विकासको अवधारणागत नीति अघि सारेको र नवौँ योजना देखि हालसम्मका योजनाहरूमा दिगो विकास र वातावरण संरक्षणका विषयलाई निरन्तर रूपमा सम्बोधन गरेको पाइन्छ। संस्थागत रूपमा वातावरण मन्त्रालय, वातावरण परिषद्, वातावरण विभाग, प्रदेश सरकार, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय लगायतले वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापन तथा सरसफाइ अभियान, भवन निर्माण मापदण्ड निर्धारण, विभिन्न विकास आयोजनाहरू सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन परीक्षण गर्नुपर्ने लगायतका क्रियाकलाप एवम् कदमबाट वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नको लागि गरिएका व्यवस्थाहरू महत्त्वपूर्ण छन्।

वातावरण दिवसको सन्दर्भ
वातावरण संरक्षणका लागि विश्व स्तरमै सामाजिक र राजनीतिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गर्‍यो। उक्त सम्मेलनले वातावरण संरक्षणको आवश्यकता महसुस गरी सन् १९७३ जुन ५ मा विश्व वातावरण दिवस पहिलो पटक मनाउन सुरु गरेको हो। त्यसै समयदेखि संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा हरेक वर्ष भिन्न देशको आयोजनामा भिन्न नाराका साथ जुन ५ का दिन विश्व वातावरण दिवस मनाउँदै आइरहेको छ। यस वर्ष पनि “वायु प्रदूषण” नाराको साथ चीनको आयोजनामा विश्व वातावरण दिवस भव्यरुपमा मनाइँदै छ। नेपालले पनि सन् १९७६ देखि उक्त दिनको अवसर पारेर हरेक वर्ष वातावरण संरक्षण गर्ने उद्देश्यले विशेष कार्यक्रमहरू आयोजना गरी वातावरण दिवस मनाउँदै आइरहेको छ। वातावरण मन्त्रालय र वातावरण विभागले वायुको गुणस्तरीयता कायम गर्ने क्रियाकलापका लागि सबैलाई आग्रह गर्दै “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ आज विश्व वातावरण दिवस, २०७६ मनाइरहेको छ।

वातावरणीय पक्षमा क्रियाशील विभिन्न सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घ संस्थाहरू, नागरिक समाज, टोल सुधार समूह, आमा समूह, विभिन्न अन्तर्राष्ट्रिय तथा स्थानीय तहका क्लब, सामुदायिक तथा निजी विद्यालय, विश्वविद्यालय तह लगायतबाट वातावरण दिवसको अवसर पारेर वा अन्य कुनै विशेष अवसरमा वातावरण संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणको लागि आ-आफ्नो स्थानबाट विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै वातावरण सन्तुलनको लागि रुख बिरुवा रोप्ने, सामूहिक सरसफाइ अभियान सञ्चालन गर्ने, वातावरण विनाश, बन विनाशको असरबाट हुने असर बारे गोष्ठी, कार्यपत्र आदि समेत सञ्चालन गर्दै आइरहेकोमा आजको दिनमा पनि यी उल्लिखित सङ्घ संस्थाले त्यसैको निरन्तरता दिइरहेका छन्। जसले वातावरण स्वच्छन्दता कायम राख्नमा पक्कै पनि थप महत्त्वपूर्ण भूमिका खेल्ने छ।

अन्त्यमा, विभिन्न राष्ट्रहरूको प्राविधिक, आर्थिक, भौतिक विकासको होडबाजीका साथै नयाँ नयाँ आविष्कारको पछाडि प्रतिस्प्रर्धात्मक रूपमा दौडिने तर वातावरणीय पक्षलाई ध्यान नदिइने परिपाटीले आज वातावरण र विकास एक अर्कामा अन्तर सम्बन्धित नभई परस्पर विरोधीको रूपमा देखा परेको, विकासका नाममा विनाश हुने गरेको जस्ता अभिव्यक्तिहरू सर्वत्र सार्वजनिक हुने गरेको पाइन्छ। यदि यही अवस्था रहने हो भने भोलि मानवीय जीवन ठुलो जोखिममा पर्न सक्ने स्थिति आउन अब धेरै समय पर्खिरहनु पर्दैन। विश्व वातावरण दिवसको अवसरमा वातावरणीय स्वच्छन्दता कायम राख्न र जलवायु परिवर्तनको असरलाई कम गर्ने उद्देश्यले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा विभिन्न सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइएको दिवसले सार्थकता पाओस्। यो एउटा बहुआयामिक र अन्तर्राष्ट्रिय स्तरको सवालको रूपमा रहेको हुँदा एउटा सिङ्गो राष्ट्रको एकल प्रयासबाट मात्र वातावरणीय संरक्षण असम्भव हुने चेतना सबैमा जागृत भई यसको लागि व्यक्ति, समाज, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय सबैको उत्तिकै भूमिका र दायित्व हुनेछ र सो को अन्तरआत्मादेखि पहल गर्ने भावनाको विकास होस्। राष्ट्रले सोही अनुरूप विकास र वातावरण बिचको तादाम्यता कायम गर्ने किसिमको नीति निर्माण र कार्यान्वयनमा हौसला प्रदान गरोस्। वातावरण दिवसको दिनमा मात्र वातावरण संरक्षणको हुण्डरी मच्चाउने संस्कृतिको अन्त्य होस्। वातावरण दिवसको गरिमा उच्च राख्न सबैको चित्ताकृष्ण होस्। वातावरण दिवसको सबैलाई शतत् शुभकामना !

जेष्ठ २२ गते, २०७६ - ११ः०७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg