रसुवामा जिप दुर्घटना, तीनको मृत्यु, तीन बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रसुवामा जिप दुर्घटना, तीनको मृत्यु, तीन बेपत्ता


२१ जेष्ठ २०७६, मंगलबार


रसुवा । रसुवामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखरा भ्रमणमा गएर फर्किएका गाउँले सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन्

चालकसहित ११ जना यात्रु बोकेर वेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै गोल्जुङ हिँडेको बा १० च ५८२० नम्बरको जीप सोमबार साँझ कालिका गाउँपालिका र गोकाइकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका ३२ वर्षीया साहिली घले, ३५ वर्षीया मेन्दु घले र ३२ वर्षीय नोर्बु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ कै ३ जना हराइरहेका छन् । पासाङ्दे घले, कामी याङ्जेन तामाङ र त्लेतङ घले हराएका छन्। उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यही आशंकामा प्रहरीले अहिले उनीहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । चालक निमा तामाङ, उनको छोरा र श्रीमती घाइते भएका छन् । घाइतेमध्ये निमा, जौरानी घले र फुर्वु योञ्जन तामाङको अवस्था गम्भीर छ । अन्य २ घाइतेको अवस्था भने सामान्य छ । प्रहरीका अनुसार, उनीहरुलाई नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ ।

दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ । कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस