विश्वकप क्रिकेट : बंगलादेशको विजयी सुरुवात, दक्षिण अफ्रिका २१ रनले पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वकप क्रिकेट : बंगलादेशको विजयी सुरुवात, दक्षिण अफ्रिका २१ रनले पराजित


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो ।

लगातार दोस्रो खेलमा पनि पराजित भएको दक्षिण अफ्रिकाले ३३१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मात्रै बनाउन सक्यो ।

पहिलो खेलमा आयोजक इग्ल्याण्डसँग पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको छ ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । उनले ५३ बलमा ५ चौका र एक छक्का प्रहार गरे । ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५–४५ रन बनाए । रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रनमा आउट भए ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । त्यस्तै मोहम्मद सइफुदिनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको विशाल लक्ष्य दिएको थियो । बंगलादेशले पूरै ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्ताफिकुर रहिमले ७८ रन बनाए । त्यस्तै, शकिब अल हसनले ७५ रन बनाएका थिए । अविजित रहेका मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए ।

राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेट ६० रन हुँदा गुमाएको थियो । तेस्रो विकेटका लागि बंगलादेशका मुस्ताफिकुर रहिम र शकिब अल हसनले १४२ रनको साझेदारी गरे ।

बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २–२ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस