‘एक्सन रुम’मा प्रधानमन्त्री : सातै प्रदेशका मुख्यमन्त्रीसँग कार्यकक्षमै भिडियो संवाद, कसले के भने ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘एक्सन रुम’मा प्रधानमन्त्री : सातै प्रदेशका मुख्यमन्त्रीसँग कार्यकक्षमै भिडियो संवाद, कसले के भने ?


१६ जेष्ठ २०७६, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)को उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको एक्सन रुमबाट सात वटै प्रदेशका मुख्य मन्त्रीहरूसँग आ-आफ्नै कार्यकक्षमा रहेर छुट्टाछु्टै तथा सामूहिकरुपमा संवाद गरी एक्सन रुमको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा गणतन्त्र आएको सुखद दिनको अवसर पारेर एक्सन रूमको सुरुवात गरेको बताउँदै यसबाट तत्काल समाधान गर्न सकियोस् भन्ने उद्येश्य रहेको जनाएका छन् ।

‘समस्याहरू समाधान गर्न, अवस्थाहरूको जानकारी लिन र विकासका प्रयासहरूलाई अगाडी बढाउँदै सुशासन पक्षलाई अगाडी बढाउन जुन अभ्यास थालनी गरेका छौँ यसले सकारात्मक योगदान पुर्‍याउने छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आधुनिकीकरण, सुशासन र विकासतर्फको यात्रालाई गणतन्त्र दिवशका दिनमा थालनी गरिएको डिजिटल नेपालको यात्राले अझ तीव्रताका साथ अगाडी बढाउन प्रेरणा देओस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्दै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशमा देखिएका समस्याहरु तत्काल समाधान गर्न एक्सन रुमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका छन् । विकास निर्माण संगसँगै संघीयता कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीले स्थापना गरेको सो एक्सन रुमले सघाउन पुर्‍याउने प्रदेशका मुख्यमन्त्रीहरुको विश्वास छ।

एक्सन रुमको उद्घाटनका क्रममा सुदूर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट अन्तरक्रिया सुरु गरिएको थियो । सो क्रममा मुख्यमन्त्री भट्टले एक्सन रुमले सङ्घ र प्रदेशलाई जोड्ने काम गरेकोमा खुसी व्यक्त गर्दै यसलाई थप विकास गरेर स्थानीय तहसम्म पुर्‍याउने योजना बनाउनसमेत प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

‘राष्ट्रलाई जोड्ने काम भएको छ’ मुख्यमन्त्री भट्टले भने ‘सम्भव हुन्छ भने सबै विकासका कामलाई भिडियो कन्फरेन्समार्फत जोड्न सके राम्रो हुन्छ ।’

कर्णाली प्रदेशकाआर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एक्सनरुमले कर्णाली प्रदेशका समस्याहरू प्रत्यक्षरुपमा प्रधानमन्त्रीसँग छलफल गर्न सकिने भएकोमा खुसी व्यक्त गरेका छन् । उनले गत वर्ष रारा तालको किनारमा प्रधानमन्त्रीलाई सम्मान गरेको स्मरण गराउँदै आज फेरी कर्णाली प्रदेशलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष जोड्न पाएकोमा हर्षित भएको बताएका छन् ।

मुख्यमन्त्री शाहीले भने ‘कर्णाली प्रदेशका जनताको विकास र उन्नति विना सिङ्गो नेपाल सुखी हुन सक्दैन ।’ कर्णाली प्रदेशको समृद्धिका निम्ति सडक मुख्य रहेको शाहीको भनाई थियो ।

प्रदेश नं. का ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारले गरेका कामहरूको बारेमा जानकारी दिँदै समृद्ध नेपाल, सुखी नेपालीको अभियानसँगै डिजिटल नेपालको सुरुवातका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक्सन रुमले प्रदेश सरकारमा देखिने समस्याहरूको तत्काल समाधान गर्न महत्त्वपूर्ण आधार तयार भएको बताएका छन् ।

आधुनिक प्रविधिको माध्यमबाट सिङ्गो नेपाललाई सुशासनयुक्त बनाउने बताउँदै गुरुङले अब विकास निर्माणका कामलाई अगाडी बढाउने विश्वास लिएको बताए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र सङ्घीय सरकारका बिचमा महसुस भइरहेको अभावलाई आजको एक्सनरुमले अत्य गरेको बताए । डिजिटल अभियानको सुरुवातले प्रदेश सरकार सबैभन्दा खुसी भएको बताउँदै केन्द्र सरकारले गरेका कुराहरूलाई मनन गर्दै कसले कहाँ कसरी काम गर्ने भन्ने बारेमासमेत स्पष्टता आउने उनको भनाई छ ।

त्यसै गरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी र बजेटका सम्बन्धमा फेस गर्नुपरेका समस्याहरू प्रधानमन्त्रीसँग प्रत्यक्षरुपमा राख्न पाउँदा सजिलै समस्याको समाधान हुने आशा लिएको बताएका छन् ।

प्रदेशले भोगी रहेका समस्याहरू प्रधानमन्त्रीले महसुस गर्ने र आफ्ना कुरा सिधै राख्न पाउनु प्रदेशका लागि अवसर भएको मुख्यमन्त्री राउतको भनाई थियो ।

त्यस्तै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा सुशासन कायम गर्न डिजिटल नेपाल अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष भिडियो कन्फरेन्समा राखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्त्ता विनोद बहादुर कुँवर सङ्घीय सरकार र प्रदेश सरकारको बिचको संवादलाई सहजीकरण गर्न एक्सन रुम अत्यन्तै उपयोगी हुने बताउँछन्

‘राष्ट्रिय गौरवका आयोजना र अन्य महत्त्वपूर्ण विकास आयोजनाहरू समयमै सम्पन्न गर्न यस प्रविधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ,’ प्रवक्त्ता कुँवरले भने, ‘अनुगमनको पनि अनुगमन गर्ने सम्माननीय प्रधानमन्त्रीले चाहनालाई एक्सनरुमले पुरा गर्नेछ’

सम्बन्धित समाचार : ‘तत्काल समस्या समाधान केन्द्र’ स्थापनाको तयारी

एक्सन रुममा जडान गरिएको सिष्टम फुल एच डी क्वालिटिसहितको ७० इन्चको डिस्प्ले, स्पिकर ट्रयाकिङ र अटोफोकससहितको इन्टेलिजेन्ट फोर के यूएचडी ट्रीलेन्स क्यामेरा, रेकर्डर, कल कन्ट्रोल, कन्फरेन्स कन्ट्रोल सिष्टम रहेको छ

यस प्रणालीले प्रदेशका समस्याहरु, विकास निर्माणका सवालहरु, विपद् व्यवस्थापन लगायतका विषयहरुमा संघीय सरकारसँग प्रत्यक्ष र तत्काल सम्वाद गरी समाधानका उपायहरु निकाल्न सकिने विश्वास प्रधानमन्त्री कार्यालयले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस