प्रसूति र वीर अस्पताल पुनःनिर्माण अन्तिम चरणमा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रसूति र वीर अस्पताल पुनःनिर्माण अन्तिम चरणमा


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । चार वर्षअघिको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसूति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

एक महीनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइने अस्पताल प्रशासनले जनाएको छ । पुनःनिर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् पुनःनिर्माण गरिएको हो ।

प्रसूति गृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा श्यया छन् । गृहको भवनमा आकस्मिक (इमरजेन्सी) डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट शल्यक्रिया वार्डलगायतका सेवा हुनेछन् । प्रसूति गृहका प्रशासक रानु थापाले भवन पुनःनिर्माण सकिएको बताउदै आन्तरिक रुपमा संरचना मिलाउने काम भइरहेको सुनाए ।

वीर अस्पतालको भवनमा भने ९४ श्यया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याष्ट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्डलगायत हुनेछन् । पुनःनिर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणमा अवलम्बन गरिएको अझै राम्रो र बलियोको अवधारणा अनुसार स्वास्थ्य संस्थाको पुनःनिर्माण भइरहेको बताए ।

सुविधा सम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्यसेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा उनको थियो । वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले भवनको पुनःनिर्माण अन्तिमचरणमा पुगेको जानकारी दिदै उद्घाटनपछि सञ्चालनमा ल्याइने बताए ।

प्रसूति गृह र वीर अस्पताल पुनःनिर्माणको लागत रु २ अर्ब १० करोड (२.४ बिलियन जापानी येन) जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का पुनःस्थापना तथा पुनर्लाभ कार्यक्रमका सल्लाहकार नानाको स्युकाहाराले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस