हिम्मतदार हात नचलाइकन मेलम्चीको पानी ल्याउन मुस्किल हुन्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हिम्मतदार हात नचलाइकन मेलम्चीको पानी ल्याउन मुस्किल हुन्छ : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

२७ बैशाख २०७६, शुक्रबार


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हिम्मतदार हात नचलाइकन मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ ल्याउन मुस्किल पर्न सक्ने बताएका छन् ।

उनले भने, ‘मेलम्ची खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रधानमन्त्रीले पनि तत्परता देखाउनु भएको छ, मन्त्री सचिव पनि लाग्नुभएको छ । तर आयोजनामा समस्या देखिएको छ । त्यसलाई समाधान गर्न सरकारले तत्काल कडा निर्णय गर्नु जरुरी देखिएको छ ।’

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले एउटा प्रवृत्तिले मेलम्चीको पानी काठमाडौँ ल्याउन अवरोध गरेको र त्यस्तो प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउन सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिए ।

नयाँ वैकल्पिक व्यवस्था गरेरै भए पनि आयोजनालाई छिटो सम्पन्न गराउन सरकारले छिट्टै निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास थियो । इटालीको ठेकेदार कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेपछि हाल निर्माण कार्य अवरुद्ध छ ।

अध्यक्ष दाहालले भने, ‘सुरुङ खन्ने काम सकिएको छ, काठमाडौँ उपत्यकाभित्रको तयारी अन्तिम सम्पन्न हुने चरणमा पुगेको छ । सुन्दरीजलमा बनाउनुपर्ने पूर्वाधार अन्तिम चरणमा पुगेको छ तर आयोजना सम्पन्न हुने अझै केही समय लाग्ने देखिएको छ, किन यस्तो भइरहेको छ ?’

गत दशैँ आसपास नै आयोजना सम्पन्न भइहाल्छ भन्ने अवस्थामा केही मान्छे मेलम्ची आउन नदिने खेलमा लागेको पाइएको उनको भनाइ छ । अध्यक्ष दाहालले भने, ‘केही हाम्रा मान्छे (नेपाली) नै आयोजना समयमा सम्पन्न हुन नदिने खेलमा लागे । यस्तो स्थिति आयोजनामा देखिएको छ ।’

आयोजनामा देखिएका चुनौतीलाई सम्पन्न गर्न राजनीतिक नेतृत्वले हस्तक्षेप नै गर्नुपर्ने उनको कथन थियो । उनले आयोजना सम्पन्न हुन नदिने र लामो समय लगाउने रोग लागेको भन्दै त्यसको निरुपणका लागि सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, ‘मेलम्चीमा छिट्टै सञ्चो नहुने खालको रोग लागेको छ । उपचार चाहिँ छ, जरुरी पर्‍यो भने अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ ।’ सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस