मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज शिलान्यास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज शिलान्यास


प्रशासन संवाददाता

२४ बैशाख २०७६, मंगलबार


भक्तपुर । भक्तपुरको लोकन्थली र काठमाडौँको कोटेश्वरमा हुने बढ्दो जाम घटाउने उद्देश्यले निर्माण हुन लागेको भक्तपुर काठमाडौँ जोड्ने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ पुलको आज शिलान्यास गरिएको छ ।

प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले बेलिब्रिज पुलको शिलन्यास गरेका हुन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले कोटेश्वर चोकसँगै जडीबुटी लोकन्थली चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई नियन्त्रण गर्नका बेलिब्रिज सहयोगी हुने बताए ।

सो पुल निर्माण सम्पन्नसँगै ललितपुरतर्फ जाने यातायातका साधनलाई यहीँबाट डाइभर्सन गर्न सकिने उल्लेख गर्दै कोटेश्वरमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्नसके यो क्षेत्रको सबै जाममुक्त हुनेमा उनको जोड थियो ।

सरकारले आगामी वर्ष यहीँ ठाउँमा अर्को पुल निर्माण गर्ने जानकारी गराउँदै उनले त्यसपछि स्थायी रुपमा सवारी जाम हटाउन सहयोग पुग्ने बताए । मध्यपुरथिमि थिमि नगरपालिकाप्रमुख मदनसुन्दर श्रेष्ठले पहुँच हुने नेता र मन्त्रीका दैलोसम्म सडक कालोपत्र हुने तर जनता हिँड्ने सडक सधैँ धुलाम्मे हुने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सांसद बस्नेतकै पहलमा जडीबुटी र कोटेश्वरको जामलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ वैकल्पिक मार्ग जडीबुटीदेखि बालकुमारीसम्मको करिडोर सञ्चालन गर्ने उद्देश्यले मनोहरा नदी किनारामा रहेको आँखा अस्पतालसँगै मध्यपुरथिमि–१ र काठमाडौँ महानगरपालिका–३५ जडीबुटी नरेफाँट जोड्ने उक्त पुल रु एक करोड ५६ लाखको लागतमा आगामी जेठ महीनाभित्र निर्माण सम्पन्न गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस