कर नबुझाउने करदातामाथि कानूनी कारवाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर नबुझाउने करदातामाथि कानूनी कारवाही


२४ बैशाख २०७६, मंगलबार


लहान । आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिए ।

उनका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९ हजार ४२७ राजश्व उठाउन बाँकी छ । यस्तै आयकरमा दर्ता भएका करदाताबाट रु दुई करोड ६७ लाख राजश्व उठन नसकेपछि कानूनी कारवाही अघि बढाइएको यादवले बताए ।

यसैगरी आन्तरिक राजश्व कार्यालय लहानले चालू आर्थिक वर्ष २०७५/७६ को नौ महीनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू आव २०७५/७६ को चैत मसान्तसम्ममा रु एक अर्ब ५४ करोड १७ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा कार्यालयले सो अवधिमा रु एक अर्ब ६६ करोड ८५ लाख ६ हजार राजश्व सङ्कलन गरेकोे छ ।

गर्मीले जनजीवन कष्टकर

विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टन्टलापुर घाम चर्किदैँ जाँदा दिउँसो पख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ ।

दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर/पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टन्टलापुर घाम लाग्ने र हावा नचल्दा आम नागरिकको दैनिक जीवनयापनसमेत प्रभावित भएको छ । गर्मीका कारण अस्पतालमा झाडापखला, रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढ्नुका साथै सर्पदंशको घटनासमेत बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घाम तात्तिदै गएपछि जमीनमुनि बस्ने सर्प जमीन बाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस