पाँच विद्यालय समायोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाँच विद्यालय समायोजन


२४ बैशाख २०७६, मंगलबार


दमौली । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।

ती विद्यालयलाई नजिकको अन्य विद्यालयमा समायोजन गरिएको व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेले जानकारी दिए। उनका अनुसार छाब्दीबाराहीलाई केशवटार माध्यमिक विद्यालयमा, भवानीलाई महेन्द्रज्योति माध्यमिक विद्यालयमा र अन्य विद्यालयलाई नजिकको बाल विकास केन्द्रमा समायोजन गरिएको छ ।

उनले भने, “विद्यालयमा १० भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको हो ।” नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको उनले जानकारी दिए ।

व्यास नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ मा तोकिएको पूर्वाधार पूरा नभएको, अधिकांश कक्षामा १० भन्दा कम विद्यार्थी सङ्ख्या भएको, दुई वा सोभन्दा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, दुई वा सोभन्दा बढी विद्यालयबीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र दुई वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस