गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु


२२ बैशाख २०७६, आइतबार


खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जनाएका छन् । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको प्रक्रियामा रहेको उनको भनाइ छ ।

कक्षा ४ र ५ को पाठ्यपुस्तक पछाइको कार्य ढिलाइ हुने भएको छ । लेखनकार्य बढी गर्नुपर्ने भएकाले पाठ्यपुस्तकको छपाइकार्य ढिलाइ हुने भएको हो । १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइकार्य तीव्रगतिमा भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ । कलासंस्कृति, धार्मिकस्थल, भूगोल, इतिहास, सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध विषयको जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो ।

गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्म पढाइ सञ्चालन गर्नका लागि स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष न्यौपानेले जनाए । तातोपानी गाउँपालिकामा रहेका २८ विद्यालयका प्रधानाध्यापकसँगको चौथो घुम्ती बैठकबाट स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माणको तयारी गरिएको उनको भनाइ छ । गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटन, कृषि, राजनीति, कलाकारितालाई प्रधान बनाइएको छ । उनले भने, “गुणस्तरीय शिक्षाले मात्र देश विकास नहुने भएकाले स्थानीय खसभाषाको पाठ्यपुस्तकलाई जोड दिइएको हो । तातोपानी गाउँपालिकालाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै स्थानीय खसभाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए।

गाउँपालिकाभित्र रहेका २८ विद्यालयमा १ देखि ३ कक्षासम्म एकसाथ स्थानीय खसभाषाको पाठ्यपुस्तक पढाइ हुने भएको छ । स्थानीय पहिचान जोगाउन र नयाँपुस्तालाई इतिहास र खसभाषाको ज्ञान प्रदान गर्ने गाउँपालिकाको प्रमुख लक्ष्य रहेको छ । स्थानीय खसभाषामा आधारित पाठ्यपुस्तक निर्माण भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुनेछ ।

तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ । अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ । न्यौपानेले स्थानीय तहलाई आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको जानकारी दिए । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका पाठ्यपुस्तक निर्माण गर्ने पहिलो गाउँपालिका बनेको छ । विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माणले गाउँपालिकाको गरिमा बढाएको छ ।

न्यून दृष्टि भएका विद्यार्थीलाई सामग्री वितरण

जुम्लाको सिञ्जा गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालयका नराकोटका न्यून दृष्टि भएका विद्यार्थीलाई सेतोछडी १० थान, टचिङ क्याल्कुलेटर तीन थान र एयाम्पी थ्री सात थान वितरण गरिएको छ ।

हेरविचार केन्द्र सुर्खेतको आर्थिक सहयोगमा भैरव माध्यामिक विद्यालय नराकोटमा अध्ययनरत १० न्यून दृष्टि भएका विद्यार्थीलाई सामान वितरण गरिएको हेरविचार केन्द्र सुर्खेतका केन्द्र प्रमुख जीवनकुमार शाक्यले जानकारी दिए ।

साथै ६५ छात्रालाई सेनेटरी प्याड वितरण गरिएको केन्द्रका सचिव शोभना खड्काले जानकारी दिए । यता विद्यालयका प्रध्यानाध्यापक मानबहादुर रोकायाले दृष्टिविहीन विद्यार्थीलाई विभिन्न प्रकारका सामग्री वितरण गरेर विद्यालयलाई ठूलो गुन लगाएको बताए ।

१३ लाखभन्दा बढी राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४÷७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४÷७५ मा राजश्व सङ्कलन १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो । सवारीसाधान कारवाहीबाट प्रहरीले उक्त राजश्व सङ्कलन गरेको हो । टा«फिक नियमको पालना नगर्ने साना र ठूला सवारीलाई जाँच गरी कारवाहीबाट राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।

गत आर्थिक वर्षमा एक हजार ८६३ सवारीसाधन कारवाहीमा परेका थिए । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल ५९९ र सबैभन्दा कम ट्र्याक्टर ११६ कारवाहीमा परेका थिए । चालू आवको चैतसम्म एक हजार ९९३ सवारीसाधन कारवाहीमा परेका छन् । पछिल्लो समय दिनहुँजसो छड्के चेकिङ र ट्राफिकको सक्रियताका कारण दुर्घटनामा समेत कमी आउन थालेको छ ।

प्रायःजसो सवारीसाधन अनुमतिपत्र लाइसेन्स नभई सवारीसाधन चलाउने कारवाहीमा परेका छन् । त्यस्तै क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो सक्रियता बढाउनको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस