हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार


१९ बैशाख २०७६, बिहिबार


सुर्खेत । जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला परेकी थिइन ।

दाङ, घोराही उपमहानगरपालिका–१५ स्थायी निवासी ३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताए ।

अनमी नेपालीको तीन महीना पहिले गर्भ खस्दा औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किकी थिइन् । यता सुत्केरी व्यथा लागेकी महतारा बच्चा जन्मन नसक्दा मङ्गलबारदेखि पीडा सहेर बसेकी थिइन् ।

उपचारका लागि दुवैलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । नेपाली र महताराको स्वास्थ्योपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले जानकारी दिए ।

मन्त्री रावलले केही समयका लागि हेलिकप्टरबाट उद्धार गरिए पनि प्रत्येक स्थानीय तहमा एक÷एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर एक÷एक जना विशेषज्ञ चिकित्सक राख्ने बताएका छन् । यसका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस