असार ४ गते, २०७६

व्यवहारको कसीबाट शिक्षा क्षेत्रको रूपान्तरण खोजौँ

शिक्षा क्षेत्रको रूपान्तरणका लागि जटिल सिद्धान्तका पछाडि नलागौं । विदेशीको बुद्धिबाट होइन स्वदेशीको अनुभवबाट सुधार खोेजौं । हाम्रा सामाजिक तथा राष्ट्रिय समस्याको परिधिभित्रबाट समाधान खोजौँ । समस्याको समाधानका लागि लक्षणमा होइन, कारणमा उपचार खोजौँ । शिक्षा सम्बद्ध अन्तर सम्बन्धित सामाजिक तथा राष्ट्रिय समस्याहरूलाई शिक्षा क्षेत्रको दायित्वको चस्माबाट हेरौँ । टालटुले र पपुलिष्ट नाराबाट होइन यथार्थपरक र प्रयोजनवादी दृष्टिकोणबाट हेरौँ, सोचौँ र कर्ममा उतार गरौँ ।

हाम्रो समस्या प्रतिबद्धतामा होइन । हामी संविधान, कानुन, नीति, योजना, कार्यक्रम, सन्धि सम्झौता आदि मार्फत अधिकांश विषयमा प्रतिबद्ध छौँ तर हाम्रो व्यवहारमा विचलन छ । प्रतिबद्धतालाई व्यवहारमा साबित गर्न चुकेका छौँ । शिक्षा क्षेत्रको सुधारको विषयलाई बहुआयामिक कोणबाट हेरी संरचनागत तथा कार्यगतरुपमा परिष्कृत अभ्यास गर्दै प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक देखिन्छ । वर्तमानमा शिक्षा क्षेत्रको कर्म, मर्म, धर्म र श्रमको यथार्थताबाट हेर्दा निम्न पक्षहरूलाई आत्म समीक्षा गर्दै शिक्षा क्षेत्रको रूपान्तरण खोजिनु पर्ने देखिन्छ:

क) युवा पलायन 
आज हाम्रा नानीबाबुहरूमा अध्ययन र जीवनवृत्तिका लागि विदेश जाने सोच र व्यवहार कहाली लाग्दो ढङ्गमा बढ्नुले शिक्षा सम्बद्ध यी सवालहरू सोचनीय छन्:

हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरूलाई नेपालमा रहेको स्रोतसाधन, अवसर तथा सम्भावनालाई पहिचान गर्न सिकाउन कतै चुक्यो कि ?

राष्ट्रप्रेम, राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी, युवा वर्गको राष्ट्र निर्माणमा रहनुपर्ने भूमिकामा संवेदनशील बन्न सिकाउन कतै चुक्यो कि ?

हाम्रो देशको उच्च शिक्षा विश्वव्यापीकरणको लहर अनुकूलको प्रतिस्पर्धी बन्न सकेन कि ? आदि कोणबाट हेरेर समग्र शिक्षा प्रणालीमा सुधार आवश्यक छ । तदनुकूलको व्यवहार आवश्यक छ ।

ख) संस्कृतिमा आएको विचलन (स्खलन) 
मानिसले जे गर्छ त्यो नै संस्कृति हो । संस्कृति समाजमा हुन्छ । समाजले संस्कृति निर्माण गर्दछ । शिक्षा समाजको एउटा अभिन्न अङ्ग हो । संस्कृतिलाई दिगो, मौलिक र सार्थक बनाउन शिक्षाको अभिन्न भूमिका रहन्छ । सबैको भावनालाई सम्मानपूर्वक महत्त्व दिई, सहअस्तित्व, श्रमको सम्मान, कार्यमुखी चरित्र, सहयोग, सद्भाव, समाञ्जस्यता र सहिष्णुता कायम गर्दै न्याय र नैतिकताको कसीमा पहुँचयोग्य समानतामा आधारित समाज, सबैको चाहना हो । यो नै हाम्रो संस्कृति बन्नुपर्दछ । त्यसैले समाजमा उपयुक्त संस्कृति निर्माण गर्न शिक्षाले रक्त सञ्चारको भूमिका खेल्नु पर्दछ । आम नेपाली समाजले हाम्रो संस्कृतिमा विचलन आएको, क्षयीकरण भएको भनी विभिन्न रूपमा चिन्ता चासोहरू अभिव्यक्त गरेको सन्दर्भमा यस विषयको मर्म अनुकूल शिक्षा क्षेत्रको दायित्वका सवालमा तपपसिलका सवालमा विमर्श गर्न अत्यावश्यक भैसकेको देखिन्छ:

विद्यालय तहको शिक्षादेखि अनुशासन, अरूको सम्मान, आत्मालोचना, आत्म समीक्षा, कडा मेहनत, आत्मविश्वास, उद्यमशीलता, श्रम र पसिनाप्रति सम्मान तथा लगनशीलता कसरी व्यवहारगत रूपमा स्थापित गर्ने ?

“इथिक्स नेपाली टेक्नोलोजी संसारको” भन्ने मूल मर्मसहित नेपाली मौलिक संस्कृतिको जगेर्ना र प्रविधिको विकास र उपयोगलाई सँगसँगै अगाडि बढाउने संस्कार कसरी बसाल्ने ?

विनम्रता र वुद्धमार्गलाई नेपालीको पहिचान रूपी ब्रान्ड कसरी बनाउने ?

पपुलिष्ट नारा र दार्शनिक जडतामा होइन प्रयोजनवादी यथार्थपरक दृष्टिकोणले समाज बदल्न सकिन्छ भन्ने सरल संस्कार कसरी बसाल्ने ?

लोकतन्त्र, मानव अधिकार, सुशासन र परानुभूतिलाई जीवन शैली कसरी बनाउने ? संस्कार र संस्कृतिको रूपमा कसरी स्थापित गर्ने ?

कर्तव्य विनाको अधिकार पाप हो । अपराध हो । नैतिक भ्रष्टाचार हो भन्ने संस्कारलाई कसरी जीवन पद्धति बनाउने ?

माथि उल्लिखित सवालहरूमा शिक्षाको भूमिकालाई अब्बल साबित गर्न सकिएमा मात्र नेपाली समाजको संस्कृतिले जीवन्तता, क्रियाशीलता र प्रभावकारिता हासिल गर्दछ । यो नै आम नेपालीको चाहना हो । शिक्षा क्षेत्रको परम दायित्व हो ।

ग) विकास र समृद्धिमा निम्छरो अवस्था
शिक्षा क्षेत्रको समुचित भूमिकाविना विकास र समृद्धि हासिल हुन सक्दैन । दिगो र सार्थक हुन सक्दैन । शिक्षा क्षेत्र विकास र समृद्धिको साधन र साध्य दुवै हो । हाम्रो देश विकासमा पछाडि पर्नुमा शिक्षा क्षेत्रका खराबीहरू पनि धेरै हदसम्म जिम्मेवार छन् भन्ने सत्य निसंंकोच स्विकारेर सुधारका लगी सोचिनु पर्दछ । विकास र समृद्धिका सन्दर्भमा शिक्षा क्षेत्रले सहीरूपमा भूमिका निर्वाह गर्न यी सवालहरूमा परिष्कृत सोच र व्यवहार आवश्यक देखिन्छ:

मानव स्रोत व्यवस्थापनको स्पष्ट सोच तथा प्रणाली विना ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सकिँदैन । आजसम्म लहड, प्रभाव र दबाबको शैलीमा मानव स्रोतको अव्यवस्थामा देश गुज्रियो । कुन क्षेत्रका लागि कुन स्तरको कति जनशक्ति आवश्यक पर्ने, त्यसका लागि शिक्षण संस्थाहरू÷शिक्षालयहरू कति चाहिने ? कुन क्षेत्र र भूगोलमा कुन विषय र सीप सिकाइका संस्थाहरू रहन ठिक हुन्छ ? जस्ता सवालमा स्पष्ट मार्गचित्रसहित अगाडि बढ्नुपर्नेछ ।

उत्पादनका साधनहरूको पहिचान, प्रबन्ध, परिचालन र त्यसबाट प्रतिफल लिन कसरी सकिन्छ ? उत्पादनका साधनहरूको गुणस्तर र उत्पादकत्व बढाउने उपाय के हो ? सीप, पुँजी, प्रविधि र बजारको एकीकृत रूपमा समुचित व्यवस्थापन गरी स्वरोजगार र रोजगारी सृजना गर्न सुधार गर्न पर्ने पक्षहरू के के हुन ? नेपालको सन्दर्भमा आर्थिक समृद्धिका बाधकहरू (प्रविधिको न्यूनतम, कमजोर पूर्वाधार, भ्रष्टाचार, न्यून आन्तरिक उत्पादन, उच्च आयात, निम्छरो निर्यात, गरिबी, असमानता, बेरोजगारी, श्रम संस्कृतिको अभाव आदि) र सम्भावनाहरू (ऊर्जा, पर्यटन, कृषि, साना तथा मझौला व्यवसाय, श्रम शक्तिको परिचालन, भूराजनीतिक अवस्थिति आदि)को यथार्थ पहिचान गराई उपलब्ध स्रोत साधन, अवसर र क्षमताको उपयोग गरी देश विकासमा लाग्नुपर्ने भोक कसरी जगाउने ? विकासप्रतिको इमानदार लगाव कसरी सृजना गर्ने ?

आर्थिक राष्ट्रियताको भावना हामी नेपालीमा सारै कमजोर रह्यो । उपयोगमुखी संस्कृति आकासिएर गयो । बचत गर्ने र पुँजीको सहीरूपमा परिचालन गर्ने बानी निकै कममा मात्रै छ । नेपाली श्रम, पुँजी, कच्चापदार्थमा आधारित उद्योगलाई प्रोत्साहन दिन राज्य र आम साधारण जनता चुकेका छौ । उपलब्ध भएसम्म राज्यले (सरकार र जनता ) स्वदेशी उत्पादन मात्र उपयोग गर्ने, उद्योग धन्दाहरूको संरक्षण र प्रोत्साहन गर्ने, निर्यात प्रवर्द्धन, वस्तु तथा सेवाहरूको बजार विविधीकरण गर्ने कार्यमा हाम्रो अवस्था कमजोर छ । यी सवालहरूमा शिक्षाले संरचनात्मक तथा व्यावहारिक उपाय सुझाउन र संस्कार स्थापित गर्न सक्नुपर्दछ ।

अन्त्यमा,
मानव साधनलाई सशक्त,सक्षम र संस्कारयुक्त नबनाउँदासम्म सामाजिक विकास र समृद्धिको गन्तव्यमा पुग्न सकिँदैन । त्यसैले सीप, सूचना र संस्कारको जननी शिक्षा क्षेत्रको विकास अपरिहार्य छ । हानुसेक र डी.किम्कोले विश्वका ५० देशहरूको ५० वर्षको (सन् १९५०–२०००) प्रवृत्तिलाई अध्ययन गरेर “स्कुलिङ, लेवरफोर्स क्वालीटी एन्ड द ग्रोथ अफ नेसन्स् ” नामक अनुसन्धान प्रतिवेदन प्रकाशित गरेका छन् । उक्त अध्ययनले जुन देशको शिक्षा पद्धति कमजोर छ त्यस देशको आर्थिक वृद्धि न्यून रहने तथ्य प्रमाणित गरेको छ । समग्रतामा मानव विकासमा अग्रता हासिल गरेका देशहरूले पनि प्रधान प्राथमिकता शिक्षालाई दिएको वास्तविकताबाट हामीले सिक्न जरुरी छ । अन्तर्राष्ट्रिय परिवेश, राष्ट्रिय सन्दर्भ र स्थानीय आवरश्यकता अनुसार सुधारको प्रयास गरिनु पर्दछ । सुधारका निमित्त नीतिगत, संरचनागत, प्रणालीगत, आर्थिक तथा व्यावहारिक तरिकाबाट महत्त्व दिएर व्यावहारिक अवलम्बन सहितको प्रतिबद्धताको साथमा इमानदार प्रयत्न आवश्यक देखिन्छ ।

बैशाख १९ गते, २०७६ - ०६ः५२ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg