तनहु । शुक्लागण्डकी नगरपालिकाले आठ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने भएको छ ।
शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । नगरपालिका क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । पहिलो चरणमा गाउँफर्कोदय मावि, खैरेनीटार मावि, सरस्वती मावि, जनकल्याण मावि, कुश्मावती आधारभूत विद्यालय, जनशिशु कल्याण आधारभूत विद्यालय, शहीदकृष्ण मावि र सूर्य आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाइने नगरप्रमुख किसान गुरुङले जानकारी दिए।
उनका अनुसार ती विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापन सुधार गरिनेछ । नगरपालिकाले चालू आवमा नमूना विद्यालय बनाउन रु ३८ लाख विनियोजन गरेको छ । रासस