सामुदायिक विकासकेन्द्र द्धारा ‘ह्याभी लिफ्ट एअरब्याग’ हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामुदायिक विकासकेन्द्र द्धारा ‘ह्याभी लिफ्ट एअरब्याग’ हस्तान्तरण


१२ बैशाख २०७६, बिहिबार


डोटी । सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीले बुधबार जिल्ला विपद व्यवस्थापन समिति डोटी लाई ‘ह्याभी लिफ्ट एअरब्याग’ हस्तान्तरण गरेको छ ।

वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा संचालित विपद जोखिम न्यूनीकरण परियोजना अन्र्तगत सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले जिल्ला विपद व्यवस्थापन समिति डोटीका अध्यक्ष एवं डोटीका प्रमूख जिल्ला अधिकारी यादव सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक प्रकोप तथा भुकम्पका कारण भौतिक संरचनाहरु भत्किएर मानिस वा अन्य कुनै प्राणी च्यापिएको अवस्थामा छिटो उद्दार गर्न यस सामाग्रीको प्रयोग गरिन्छ । जुन वस्तुले च्यापेको छ, त्यसको मूनितिरबाट छालाका दुइ वटा झोलाहरु छिराएर सिलिण्डरबाट ति झोलामा ग्याँस भरेर ‘ह्याभी लिफ्ट एअरब्याग’को सहायताले ४ देखि १० टनसम्मको भारी चिजवस्तु उठाउन सफल परीक्षण भैसकेको वल्र्डभिजन इन्टरनेशनल नेपालका पब्लिक इंगेजमेन्ट विशेषज्ञ विनयप्रकाश बरालले बताए ।

विपद व्यवस्थापन, खोजी तथा उद्दारका लागि जिल्लामा पर्याप्त सामाग्री नभएको अवस्थामा सामुदायिक विकास केन्द्रले ‘ह्याभी लिफ्ट एअरब्याग’ उपलब्ध गराएकोमा डोटीका प्रमूख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष यादव सुवेदीले विशेष धन्यवाद दिए । साथै उक्त सामाग्रीको व्यवस्थापन र सदुपयोगका लागि छलफल गरी नेपाली सेना, नेपाल प्रहरी वा शशस्त्र प्रहरीको जिम्मामा राखिने समेत बताए ।

विपदको विषय सबैको साझा विषय भएकाले हामीसँग रहेका जेजस्ता सामाग्रीहरु छन् ति सामाग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । डोटीमा पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिलाई पनि उक्त सामाग्री प्रदान गर्ने योजना रहेको समेत अध्यक्ष जोशीले बताए । बुधबार नै ‘ह्याभी लिफ्ट एअरब्याग’सामाग्री दिपायल सिलगढी नगरपालिकामा रहेको स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमूख मञ्जु मलासीलाई पनि हस्तान्तरण गरिएको छ ।

वल्र्डभिजनको सहयोगमा संचालित नेपाल विपद जोखिम न्यूनीकरण परियोजना अन्र्तगत सामाग्री सहयोग गरिएको हो । परियोजना सुदूरपश्चिमका डोटी, अछाम र कैलालीमा सञ्चालन भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस