नमूना शहर बनाउन डिपिआर शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नमूना शहर बनाउन डिपिआर शुरु


१० बैशाख २०७६, मंगलबार


लमही । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर शुरु गरेको छ ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको बताइएको छ । गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली पार्क निर्माण, फोहर संकलन केन्द्र निर्माण, खानेपानीका वडास्तरीय बृहत योजना सञ्चालन र नमूना सडक बनाउने कार्यमा गुरुयोजना निर्माण गरी कार्यान्वयनको चरणमा लगेको हो ।

प्रदेश नं ५ सरकारको ६० लाख बजेटमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको तयारी भएको छ । प्रदेश सरकारकै ३६ लाखको लागतमा गढवा गाउँपालिकास्तरीय व्यवस्थित र आधुनिक खेलकूद मैदान निर्माणको शुरुआत गर्न थालिएको छ ।

दाङको विकट क्षेत्रमा रहेको उक्त गाउँपालिकामा आधुनिक शहर निर्माण भएसँगै गाउँपालिकाले विकासमा फड्को मार्ने छ । त्यस्तै प्रदेश सरकारले नै देउखुरीको जङ्गलकुटीमा नमूना थारु सङ्ग्रहालय बनाउने योजना बनाएको छ ।

पानीको समस्या रहेको उक्त पालिकामा अहिले पनि पानीको समस्या पनि हटेको छ । साथै साढे चार करोडको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई तीब्रता दिइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकासले पनि गति लिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार यस अघि विकास निर्माणका कार्यले गति लिन नसकेको भएपनि अहिले जनप्रतिनिधि आएपछि विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस