मेरुदण्ड भाँचिएर आठ वर्षदेखि जीवनमरणको दोसाँधमा « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

मेरुदण्ड भाँचिएर आठ वर्षदेखि जीवनमरणको दोसाँधमा


५ बैशाख २०७६, बिहिबार


डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा छन् । उनी आठ वर्षदेखि ओछ्यानमै थला परेका छन् । शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड) नै भाँचिएपछि उनी थला परेका हुन् ।

विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो । स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगिए उनको ज्यान बच्ने बताएपछि आफन्तको सहयोगमा उपचारका लागि नेपालगञ्ज लगियो ।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौँ शिक्षण अस्पताल लगियो । अस्पतालमा तीन दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाव दिए । त्यसपछि जोरपाटीमा रहेको अस्पतालमा १४ दिनसम्म उपचार गराएको उनले बताए ।

“चिकित्सकले दुई रड राखेपछि असह्य पीडाका कारण १० दिनसम्म खानासमेत नसकेको मान्छे पछि खानसक्ने मात्र भएँ तर सुधारचाहिँ भएन”, उनले भने । त्यसपछि थप उपचारका लागि भैँसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो । भैँसेपाटीमा तीन महिना उपचार गराएपछि पनि राम्रोसँग उपचार हुन सकेन । चिकित्सकले अझै अस्पतालमा बसेर उपचार गर्नुपर्ने बताए पनि खर्च अभावका कारण सासमात्र लिएर घर फर्कनुपरेको हरिमानले बताए ।

काठमाडौँको महङ्गो बसाइ, औषधि उपचार खर्च धान्न नसक्दा आफ्नो उपचार हुननसकेको उनले बताए । आठ वर्ष पहिला परिवारमात्रै नभई विपन्न, असहाय छिमेकीको समेत सहारा बन्ने उन िअहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा छन् ।

उनका लागि घर बाहिर पाल टाँगेर बस्ने ठाँउ बनाइएको छ । आठ वर्षदेखि त्यही ठाउँमा चेप्टो परेर जीवनको अन्तिम सास फेरिरहेका छन् । “पहिला बनाएको घर भए पनि ढाड भाँचिएपछि आठ वर्षदेखि घामपानी, हिउँ छेक्ने त्यही पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरिरहेको छु”, रोकायले भने ।

उनको बिछ्याउनाको तलपट्टि जस्ता बिछ्याइएको छ । त्यसमाथि ओछ्यान राखिएको छ । जस्तालाई प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ । दिसा गर्न मनलाग्यो भने अरुलाई बोलाएर भाँडोमा थापेर फाल्नुपर्छ । न आफैँ खान सक्छन् न दिसापिसाबका लागि शौचालयनै जान सक्छन्, सबै कुरा श्रीमती र छोरीले गरिदिन्छन । उनका दुई छोरी र एक आठ वर्षीय छोरा छन् ।

“आफूलाई असह्य पीडा त छँदैछ मेरै कारणले परिवारलाई झन् दुःख भएको छ, मर्न पाए सुख हुन्थ्यो”, उनले रुँदै भने। ढाड भाँच्चिएलगत्तै उनलाई दाजुभाइले पैसा उठाएर उपचारका लागि काठमाडौ लगिएको हो तर, खर्च अभावमा उपचार हुन सकेन । उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा गए पनि आर्थिक अभावका कारण लाखौँ पैसा तिर्न नसक्ने भएकाले उपचार नगरेर फर्किएको उनका भाइ विष्णुमान रोकायले बताए ।

“निको हुने आशामा सबै गरेर रु सात लाख खर्च भइसक्यो तर अवस्था उस्तै छ, चिकित्सकले २५/३० लाख भयो भने उपचार हुन्छ भनेका छन् यत्रो पैसा घरखेती बेचेर पनि आउँदैन”, हरिमानले भने, “आफू थला परेदेखि घर खर्चका लागि पनि अरुमा भर पर्नुपरेको बेला लाखौँ कसरी पाउने र उपचार गर्ने यसै कुहिएर मर्नुबाहेक अरु विकल्प छैन ।”

चुनावी एजेण्डा मात्र

चुनावमा उनलाई विभिन्न राजनीतिक दलका नेताले चुनावी एजेण्डासमेत बनाए । उनी र आफन्तको भोट माग्नका लागि शहरका ठूला अस्पतालमा लगेर उपचार गराउनेसमेत वाचा गरे तर चुनाव जितिसकेपछि कसैले फर्केर हेरेनन् । “दोस्रो संविधानसभाको चुनावमा भोट माग्न नेताहरु गाउँ आएका थिए, काठमाडौँ लगेर उपचार गराइदिने भन्दै सम्पूर्ण परिवार र आफन्तको भोट हाल्न अनुरोध गरे, श्रीमान्को उपचार हुने आशामा सबैलाई हात जोडेर भोट हाल्न लगाएँ तर नेताको बोली आश्वासनमा मात्रै सीमित भयो”, उनकी श्रीमती बुद्धिरुपाले भनिन्।

“श्रीमान्को जिउँदै मरेजस्तो जीवन परिवर्तन हुन्छ कि भन्ने आशा पलाएको थियो तर त्यो आशा नेताको बोलीमा मात्रै सीमित भएको उनले बताइन् । “मेरो यस्तो अवस्थालाई नेताले चुनावी एजेण्डासमेत बनाए, मलाई खानाखाजा खुवाउन नदिएर परिवार र आफन्तलाई मतदान केन्द्रमा आफ्नोसहित भोट हाल्न पठाएँ तर चुनाव जितिसकेपछि फर्केर आएनन्”, हरिमानले गुनासो गरे।

उपचार गराएर अन्य मान्छेसरह हिँडडुल गर्नसक्ने बनाइदिन्छन कि भन्ने ठूलो आशा रहेको तर कसैले पनि चुनावी वाचा पूरा नगरेको उनको भनाइ छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण ठुली छोरीले पढाइ पूरा गर्न सकेकी छैनन् । नजिकैको जनप्रभा माविबाट एसएलसी पास गरे पनि माथिल्लो तहको शिक्षा लिनबाट उनि वञ्चित भएकी छन् । घरायसी कामकाजको बोझ, कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीको भविष्य बिग्रेको बुद्धिरुपाले बताए ।

मिसन नेपालको अभियान

हरिमानको उपचारका लागि मिशन नेपाल नामक सामाजिक संस्थाले अभियान चलाएको छ । देश–विदेशमा रहेको सहयोगी दाताहरुबाट आर्थिक सङ्कलन गरेर उपचार गर्ने लक्ष्यअनुरुप आर्थिक सङ्कलन अभियान शुरु गरिएको संस्थाका अध्यक्ष ओमेन्द्र केसीले जानकारी दिए ।

उनको उपचारका लागि आफ्नो संस्थाको तर्फबाट रु २५ हजार सहयोग गर्ने समेत केसीले बताए । बिरामी रोकायको नाममा जिल्ला सदरमुकाम दुनैमा रहेको सिटिजन्स बैंकमा खाता खोलिएकाले सबै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ । उपचारका लागि आर्थिक सङ्कलन गर्ने क्रम जारी रहेको बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस