सिन्धुपाल्चोक । विन्दा माझीले सानैदेखि छोरीमान्छेले घर निर्माण गर्नु हुँदैन र सक्दैनन् भन्ने सुनेकी थिइन् । आमा र हजुरआमाले गरेका कुरामा उनको पनि विश्वास थियो ।
विसं.२०७२ को भूकम्पले उहाँलगायत ५६ घरपरिवार बस्दै आएको इन्द्रावती गाउँपालिका–९ स्थित बिस्देउटार वस्ती भत्किएपछि उनी आफ्नो मात्रै होइन्, छिमेकी र आफन्तको समेत घर निर्माणमा जुटेका थिए । आगामी दिनमा सामग्री उपलब्ध हुँदा अरुका घर निर्माणमा लाग्न सक्छु भन्ने उनीमा आत्मविश्वास पलाएको छ ।
तीन सन्तानकी आमा विन्दाले विहान बेलुका घरको काम सकेर दिउँसो घर निर्माणमा लागेका थिए । उनले महिला पुर्नस्थापना केन्द्र (ओरक) ले दुई वर्ष पहिले सञ्चालन गरेको भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि मिस्त्री तालीम लिएका थिए। संस्थाले यहाँका २० महिला र २९ पुरुष गरी कूल ४९ जनालाई घर निर्माणको तालीम दिएको थियो । तालीम लिएका महिला र पुरुष पालैपाले गरेर घर निर्माणमा लागेका थिए ।
पहिले उनी घर निर्माणमा महिलाले आवश्यक निर्माण सामग्री बोक्न मात्रै सक्छन् भन्ने सोच्थे। तालीमपछि महिलाले पनि सीप सिकेमा जुनसूकै काम गर्न सक्दा रहेछन् भन्ने आत्मविश्वास पलाएको बताए । उनले भने, “यसपछि अरु घर बनाउनु परे पनि सक्छु भन्ने विश्वास छ ।”
विन्दा माझीजस्तै गाजली माझीले पनि दुई वर्ष पहिले भूकम्प प्रतिरोधी घर निर्माणको तालीम लिएर त्यसयता वस्तीका घर निर्माणमा लागेका थिए । “महिलाले पनि पुरुषले जसरी नै काम गर्न सक्छन् भन्ने पहिले लागेको थिएन”, उनले भने, “हामीले गाहे लगाउने र छाना छाउने काम पनि मिलेर गरेका छौँ ।”
घर निर्माण सम्पन्न गरेका स्थानीयवासी अहिले जीविकोपार्जनको समस्या रहेको बताउँछन् । स्थानीयवासी नारायण माझीले युवा बेरोजगारको सङ्ख्या यहाँ धेरै रहेको बताउँदै स्थानीयवासीसँग थोरै मात्रै जग्गा भएकाले खेतबारीको उत्पादनले जम्मा दुई तीन महिना मात्रै पुग्ने हुँदा बाँकी समयमा के गरेर निर्वाह गर्ने भन्ने चिन्ता रहेको पीडा पोखे ।
उनले भने, “मध्यपाहाडी लोकमार्गले गर्दा त्यही भएको खेतबारी पनि पुरिएको छ ।”
महिला र पुरुष दुबैको सहभागितामा यो माझी बस्तीका क्षतिग्रस्त ५६ घरको नै पुनःनिर्माण सम्पन्न भएको छ । एइआइएन लक्जम्वर संस्थाको आर्थिक सहयोगमा ओरेकले यहाँको ५६ घर निर्माण तीन वर्ष पहिले शुरु गरेको थियो । स्थानीयवासीलाई आफ्नै सहभागितामा घर निर्माण गर्दा त्यसको बढी माया हुने भन्दै घर निर्माणमा स्थानीयवासीलाई सहभागी गराइएको ओरेकले जनाएको छ ।
यस क्षेत्रका सांसदसमेत रहेका पूर्वमन्त्री शेरबहादुर तामाङले घर निर्माण सकिएकाले अब स्थानीयवासीले कसरी यो ठाउँलाई सम्पन्न बनाउने भन्ने विषयमा सोच्नुपर्ने बताउँदै मध्यपहाडी लोकमार्ग यही वस्तीको नजिकबाट जानुले यहाँ पर्यटक र कृषिको सम्भावना उच्च रहेको बताए । उनले भने, “यहाँका कला, संस्कृति जोगाउने, अर्गानिक खानेकुरा फलाउने हो भने यस ठाउँमा पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।”
इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले विनाशले विकास निम्ताउँछ भन्ने भनाई बिस्देउटारमा प्रमाणित भएको बताउँदै आगामी दिनमा यहाँको आवश्यकता अनुसार पूर्वाधार विकासका लागि संघसंस्थासँग मिलेर काम गर्ने धारणा व्यक्त गरे। उनले भने, “खानेपानी, बिजुलीलगायतका पूर्वाधार विकासमा सबै मिलेर लाग्न जरुरी छ ।”
वडा नम्वर ११ का अध्यक्ष मनै माझीले घर निर्माण सकिएकाले अब कृषि, पशुपालन, पर्यटनलगायत रोजगारीमूलक क्षेत्रमा काम गर्नुपर्ने उल्लेख गर्दै बालबिबाह, विद्यालयबीचमा नै छाड्ने प्रवृत्ति यहाँको समस्याका रुपमा रहेको बताए । उनले भने, “यी सबै समस्या समाधानका लागि हामीले योजना बनाएका छौँ ।”
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला अनुदान कार्यन्वयन एकाईका प्रमुख जय प्रकाश गुप्ताले बस्ती निर्माणका क्रममा रहेका त्रुटीहरु सच्चाउनुपर्नेमा जोड दिदैं प्राविधिक जाँच नहुँदा यहा केही त्रुटीहरु रहेको बताए।
ओरेकका कर्यकारी निर्देशक लुमराज न्यैपानले सकेसम्म प्राविधिक त्रुटि हुन नदिइएको बताए । भूकम्पको दुई महिनासम्म पनि कुनै पनि संस्था नपुगेको र स्थानीयवासीले राहतका सामग्री नपाएको जानकारी पाएपछि ओरेक यहाँ आएको उनले बताए । उनले भने, “त्यसपछि हामीले यहाँ घर बनाउनेसँगै तरकारी खेती गर्ने तालीम पनि दिइरहेका छौँ ।”
एइआइएन लक्जम्वर संस्थाका देशीय निर्देशक रमेश तोयनले संस्थाले भूकम्पपछि धेरै ठाउँमा ओरेकसँगको सहकार्यमा सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
यो वडामा झण्डै तीन सय १७ घरधुरी रहेकामा ८५ प्रतिशत माझी जातीको बसोबास छ । ओरेकले यहाँ शौचालय निर्माण पनि गरिरहेको छ । रासस