काठमाडौं । नेपाल बार एसोसिएसनको मत गणनामा लोकतान्त्रिक समूहको अग्रता देखिएको छ ।
पछिल्लो परिणामअनुसार प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ भन्दा लोकतान्त्रिक समूहका सुनिल पोखरेल ७८ मतले अग्र स्थानमा छ ।
इलाम, झापा र विराटनगरको मतगणना सकिँदासम्म प्रगतिशील समूहका श्रेष्ठले ८७ मतले अग्रता लिएका थिए ।
गएरातिसम्मको परिणामअनुसार पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् ।
अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ । मत गणना बुधबार बिहान ९ बजेबाट पुनः सुरु हुने छ ।
शनिबार केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।
निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।







