दमौली । पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुगे । उनले हालसम्म ६५ पटक रक्तदान गरिसकेका छन् ।
पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आएका उनले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आएका छन् ।
रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई चिर्दै रक्तदानको प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि एक सय किलोमिटर साइकल यात्रा गर्दै आएका छन् ।
शनिबार रेडियो अन्नपूर्णले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५औँ पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकलयात्रामा निस्केका उनले रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकलयात्रा गरेको बताए ।
उनले भने, “हरेक पटक रक्तदान गरिसकेपछि एक सय किलोमिटरको साइकलयात्रा गर्ने गरेको छु । यसको मुख्य उद्देश्य रक्तदानले मानिस कमजोर हुन्छ भन्ने भ्रम चिर्नु हो ।”
लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एवं साइकल सिटी पोखराका निवर्तमान अध्यक्षसमेत रहेका उनले रक्तदानले मानिसलाई थप स्वस्थ बनाउन सहयोग पुग्ने बताए ।
पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उनले साइकलमा करीब दुई घण्टाको अवधिमा पूरा गरे । त्यस्तै दमौलीदेखि पोखरासम्म फर्कदा तीन घण्टा १५ मिनेट लाग्यो ।
नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध रहेका उनले रगतको अभाव हुँदा बिरामीलाई रगतको व्यवस्था मिलाउने सहजीकरणसमेत गर्दै आएका छन्।
उनले भने, “पोखरामा कसैलाई रगत चाहिएको खण्डमा मलाई सम्पर्क गर्दै आएका छन् । मैले त्यस्ता व्यक्तिलाई रगतको प्रबन्ध मिलाइदिनेसमेत गरेको छु ।”
पाँच साहित्यकार सम्मानित
तनहुँको शुक्ला साहित्य सङ्गमले पाँच साहित्यकारलाई शनिबार सम्मान गरेको छ ।
सङ्गमले साहित्यको क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई विभिन्न विधाबाट सम्मान गरेको हो । शुक्ला विशिष्ट पुरस्कारबाट गुल्मीका डा. रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कारबाट सिराहाका धीरेन्द्र प्रेमर्षि, शुक्ला प्रतिभा पुरस्कारबाट तनहुँका जगन्नाथ पौडेल र शुष्मा सिग्देल र शुक्ला बाल प्रतिभा पुरस्कारबाट अमृत ढकाल नगदसहित सम्मानित भएका छन् ।
डा रामप्रसाद ज्ञवालीले नगद १५ हजार, धीरेन्द्र प्रेमर्षिले नगद १० हजार, जगन्नाथ पौडेल र शुष्मा सिग्देलले नगद पाँच÷पाँच हजार र अमृत ढकालले नगद दुई हजार ५०० सहित सम्मानपत्र प्राप्त गरे ।
उनीहरुलाई पूर्व गर्भनर डा दीपेन्द्रबहादुर क्षेत्री, शुक्ला साहित्य सङ्गमका अध्यक्ष नारायण श्रेष्ठलगायतले सम्मान गरेका छन् । रासस